दैलेख, २८ माघ
छुवाछुतको मुद्दाका मुख्य दोषीलाई जोगाउन खोज्दा एक जना शिक्षक भक्तबहादुर भण्डारी प्रहरीको खोरमा परेका छन् । दैलेखको विसलास्थित कृष्ण निमावि माझखर्कमा नेपाली विषय पढाउने ती शिक्षकले गाउँकै छिमेकीलाई सार्वजनिक धारामा जातीय विभेद गरेको मुद्दामा आरोपित उनकी छोरी साधना र पत्नी बसना भण्डारीलाई जोगाउन खोज्दा आफू प्रहरी नियन्त्रणमा परेका हुन् ।
गत पुस ३ गते सार्वजनिक धारामा पानी भर्दा बिसला गाविस वडा नं. १ माझखर्क गाउँकी एक बृद्ध दलित महिना पाना नेपालीलाई पाइप छोएको भनी जातीय हिसावले होच्याउँदै कुटपीट गरेपछि परेको जाहेरीका आधारमा प्रहरी पक्रन जाँदा ३ पटकसम्म लुकाएको कारण यस पटक प्रहरीले शिक्षक भक्तबहादुरलाई नै पक्रेको हो ।
नेकपा–माओवादी समर्थक शिक्षक भण्डारीले जातीय विभेदको मुद्दाबाट जोगाई दिन आफ्नो पार्टीलाई अनुनय गरेका छन् भने नेकपा (एमाले)को नेतृत्वलाई मुद्दाबाट जोगाए एमालेमा प्रवेश गर्ने वचन दिएको बुझिएको छ ।









