नेपालको राजनीतिमा विभिन्न खाले परिघटनाहरू आउने गरेका छन् । समय आवश्यकता र सन्दर्भ अनुसार आउने विषयहरू त फरक हुनसक्लान तर वास्तविकता भन्दा केही पर गएर हुने विश्लेषणहरूले पनि पछिल्ला दिनहरूमा बजार तताएको मात्र छैन निर्णय क्षमता समेत प्रदर्शन गरेको छ । नेपालमा भएका विभिन्न आन्दोलनहरू र ती आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरूलाई कसले कसरी व्याख्या र विश्लेषणहरू गरे भन्ने विषय एकातिर छ । अर्कोतर्फ सत्य के हो र असत्य के हो ? भनेर छुट्टाउने अनि सोही अनुसार निर्णय गरेर अगाडी बढ्ने विषयमा भने कहीँ न कहीँ पुराना राजनीतिक दलहरूले चुकेकै हुन ।
सत्ता सँधैभरी आफ्नो हुँदैन भन्ने सोच र भावनाबाट जुन नेता र नेतृत्वले समयमै निर्णय लिन सक्यो उही नै भोलिका दिनसम्म नाम चल्ने हुनसक्छ । सधैँ भरी जनताहरू हाम्रा निजी पेवा हुन भन्ने भ्रम पुराना राजनीतिक दलहरूमा रहिरहनु र नयाँ आएका राजनीतिक दलहरूले पुराना पद्धतिहरूमध्ये जुन कुराहरू बिग्रेका थिए ती विषयहरूलाई मात्र बढी केन्द्रित गरेर जनभावना आफ्नो पक्षमा पार्ने योजना बनाउने अभियानले पनि नेपालको राजनीतिमा उथलपुथल भएको स्पष्ट देख्न सकिन्छ । जति वेला पुराना राजनीतिक दलहरूको हातमा सता थियो उति वेला कतिपय परिवर्तन गर्नुपर्ने नीति र नियमहरू परिवर्तन भएनन् । निर्माणको जिम्मेवारी लिएका निकायहरूले सरकारलाई नै धम्की दिने र आफूले जिम्मा लिएका कामहरू नगर्ने प्रचलन बढ्यो । जनताले बिस वर्ष अघि पाउनुपर्ने पुलको सुविधा बिस वर्षसम्म पनि पाउन सकेनन् । केही पहुँचवालाहरूकै वरिपरि राज्यसत्ता घुमिरह्यो जसका कारण सत्ताको बागडोर सम्हाल्नेहरूप्रति भित्र भित्र भुसको आगोझैँ बिरो धका ज्वालाहरू दन्किरहेको थिए ।
निर्वाचन पछि आएको नयाँ सरकारले हरेक दिन विषय केन्द्रित छलफल सुरु गरेको छ । हरेक विषयमा देखिएका समस्याहरू र ती समस्या समाधानका लागि धमाधम कानुनहरू, नीति र नियमहरू परिवर्तन गरिरहेको छ । चाहना राख्ने हो भने त परिवर्तन गर्न धेरै दिन कुर्नुपर्ने अवस्था रहेनछ भन्ने कुराको उदाहरण अहिलेको सरकारले धमाधम देखाउँदै गएको बेलामा पुराना राजनीतिक दलहरूले भने अहिले मुख मिठाउने वा बिगार्ने बाहेक अरू केही देखिएको छैन ।








