दैलेख : दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । जिल्लाका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्दै आइतबार एक कार्यक्रमकाबीच दैलेखलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव रोशनि श्रेष्ठले जिल्ला खोप समन्वय समितिका संयोजक नमराज शाहीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरकी थिइन् । दैलेखलाई पहिलो पटक २०७४ असारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो ।
सरकारको नियम अनुसार प्रत्येक वर्ष वडादेखि स्थानीय तह हुँदै जिल्लालाई सुनिश्चितता घोषणा गरिन्छ । जन्मेदेखि पन्ध्र महिना भित्रका बालबालिकालाई पूर्ण खोप प्रदान गरेसँगै दैलेखलाई १० औँ पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताए ।
जेठसम्म जन्मेदेखि पन्ध्र महिना भित्रका तीन हजार २ सय ३४ जना बालबालिकाहरूलाई पूर्ण खोप प्रदान गरिएको छ । जसमा दलित एक हजार १ सय ५१, जनजाति तीन सय ४४, मधेसी २, मुस्लिम १५, ब्राह्मण क्षेत्री एक हजार २ सय ८३ र अन्य ठकुरी÷दशनामी चार सय ३९ जनालाई पूर्ण खोप प्रदान गरिएको रहेका छन् । जसमा महिला एक हजार ५ सय ३१ र पुरुष एक हजार ७ सय २१ हुन् ।
जिल्लाका ११ स्थानीय तह अन्तर्गत रहेका २ अस्पताल, ३ आधारभूत अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, ५५ स्वास्थ्य चौकी, ५ सहरी स्वास्थ्य सेवा केन्द्र, १८ सामुदायिक स्वास्थ्य इकाई, २४ आधारभूत स्वास्थ्य सेवा केन्द्र, आठ सय २१ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत दुई सय ५९ खोप केन्द्रबाट नियमित रूपमा खोप सेवा प्रदान भइरहेको जनाइएको छ ।
गुणस्तरीय खोप सेवा प्रदान गर्ने ध्येयका साथ यहाँका ११ स्थानीय तहहरूमा गुणस्तरीय खोप भण्डारणका लागि कोल्डचेन सव सेन्टर सञ्चालन गरिएको खोप अधिकृत रेग्मीले बताए । खोप कार्यक्रमको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनको लागि खोप ऐन २०७२ समेत जारी गरी बालबालिकाको खोप पाउने अधिकार सुनिश्चित समेत गरेको छ ।
सरकारले बालबालिकालाई १४ प्रकारका प्राणघातक रोगविरुद्ध निःशुल्क नियमित खोप उपलब्ध गराउँदै आएको छ । साथै गर्भवती महिलालाई टिटानस–डिफ्थेरिया (टिडी) खोप र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप पनि प्रदान गर्दै आएको हो ।









