दैलेख जेठ २१ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिकला आचार्यले हाम्रो समाजमा रहेका महिलाहरु सवै क्षेत्रबाट पछाडी परेकोले महिलाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक रुपमै परिवर्तनको आवश्यकता रहेको बताएकी छन् । महिलाहरुलाई समाजले गर्ने विभिन्न खाले विभेदका कारण शारिरिक देखि मानसिक रुपमै महिलाहरु हिंसामा पर्ने गरेकोले उनीहरुको चेतनास्तरको परिवर्तन गर्न निकै चुनौती र आवश्यक रहेको बताउँदै सवैले त्यसतर्फ ध्यान दिन आग्रह समेत गरेकी छन् । विगत पाँच बर्षदेखि जिल्लाका दुर्गम ३ गाविसहरुमा महिला नेतृत्व परियोजना संचालन गर्दै आएको महिला सशक्तिकरण मञ्च दैलेखले थप दुईवटा गाविसमा कार्यक्रम विस्तार र आगामी बर्षमा गरिने क्रियाकलापको जानकारी वारे जिल्ला स्तरिय कार्यक्रममा बोल्दै आचार्यले कतिपय शिक्षीत र राजनीति बुझेका मानिसहरुबाटै महिलाहरु अपहेलीत हुनु परेको उदाहरण देखिएको बताईन् ।
अक्सफामको आर्थिक सहयोगमा सुरु गरिएको उक्त रियोजनाले सामाजिक परिचालन र सशक्तिकरण मार्फत आर्थिक, सामाजिक, राजनैतिक क्षमतामा अभिबृद्र्धि गर्ने, गाउँका विभिन्न संरचनाहरुमा महिलाहरुको उल्लेख्य सहभागिता अभिवृद्र्धी गरि महिलाहरुलाई नेतृत्व बिकासमा टेवा पुर्याउने र सशक्त बनाउने अभियान थालिने जानकारी दिएको छ ।
यो बर्ष दुईवटा गाविस मालिका र खड्कवाडालाई थप गरि विगतदेखि संचालनमा रहेका गोगनपानी, सेरी, बराहमा समेत यो बर्ष विभिन्न कार्यक्रमहरु संचालन गरिने परियोजना संयोजक चित्रा बिकले जानकारी दिएकी छन् । कर्मचारी तलव लगायत बिभिन्न क्रियाकलापहरुमा करिव १ करोड बढी रकम खर्च हुने संस्थाले जानकारी दिएको छ । परियोजनाका क्रियाकलापहरु बारे जिल्लास्थित राजनीति दल, नागरिक समाज, शिक्षक विद्यार्थी लगायतले शुझाव सहित शुभकामना प्रदान गरेका छन् ।
नेकपा माओवादीका लक्षीराम ढकालले जिल्लामा रहेका सबै गैरसरकारी संघ संस्थाहरुले सुरुवातका कामहरुमा बर्षातको भेल झै राम्रो देखिन खोजेपनि कार्यक्रम समाप्त हुने समयसँगै खहरे खोलाझै सुक्ने परिपाटी भएको टिप्पणी गर्दै ग्रामिण महिलाहरुको सशक्तिकरण आवश्यक रहेको र अँझै कार्यक्रम प्रभावकारी बनाउन आग्रह समेत गरेका छन् ।
नेपाली काँग्रेसका कृष्ण कुमार वि.सी.ले गैर सरकारी संघ संस्थाहरुले आफ्ना कामहरुलाई पारदर्शी बनाउन र दिगो समयसम्म चलाउनका लागि नयाँ रणनीति ल्याउनुपर्ने भन्दै यसको लागि गैरसरकारी संस्था महासंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । संस्थाकी अध्यक्ष तुला रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।









