धमाका संवाददाता
दैलेख साउन ३ ।
सामाजिक सेवाका लागि अन्तराष्टिूय स्तरको मान्यता प्राप्त लायन्स क्लवको दैलेखमा सुरुवात भएपछि पहिलोपटक पदाधिकारी र सदस्यहरुलाई औपचारिक रुपमा चार्टर सर्टिफिकेट हस्तान्तरण सहित प्रशिक्षण गरिएको छ ।
जोन चियरपर्सन कल्पना कार्कीको अध्यक्षतामा संचालन गरिएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी चिफ डिस्टिक सल्लाहकार मधुसुदन रिजाल रहेका थिए । लायन्स क्लव अफ दैलेखको आतिथ्यमा प्रतिशक्षण कार्यक्रम संचालन गरिएको हो ।
लायन्स क्लव अफ दैलेखका पदाधिकारीहरुको आग्रहलाई स्विकार गर्दै नेपालगंज र सुर्खेतका लायन्स क्लवका पदाधिकारीहरुले लायन्स क्लवको नेपाल र अन्य मुलुकहरुमा भएको महत्वका बारेमा जानकारी गराएका थिए । नेपालगंज लायन्स क्लवका डिस्टिक एडभाईजर ज्ञानेन्द्र श्रेष्ठ र सिनियर डिस्टिक एडभाईजर मधुसुदन रिजालले लायन्सवारे जानकारी गराएका थिए ।
हरेक मानिसहरुले गरेको आफ्नो व्यवसायबाट भएको आम्दानीको केही रकम जम्मा गरेर आफुभन्दा कमजोर अवस्था भएका नागरिकहरुको सहयोगका लागि लायन्स क्लवको सुरुवात भएको कार्यक्रममा जानकारी दिईएको थियो ।
नेपालमा पहिलोपटक १९७१ मा सुरु भएको लायन्स क्लवका अध्यक्ष स्वर्गीय मातृका प्रसाद कोईराला रहेको र सामाजिक संस्थामा बसेर आफुले अरुलाई सहयोग गर्नका लागि यसको सुरुवात भएको मधुसुदन रिजालले जानकारी दिएका छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै सहयोग गर्ने संस्थाको रुपमा नाम कमाएकोे लायन्स क्लवले अहिले अन्य विभिन्न पुर्वाधारका क्षेत्रमा पनि काम गर्न सुरु गरेको ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
दैलेख क्लवका चार्टर अध्यक्ष बिष्णु शर्मा सहितका पदाधिकारीहरुलाई लायन्स क्वल अफ बुलबुलेका सचिव भूपेन्द्र बि.सी. सहित डिस्टिक एडभाईजर र सिनियर एडभाईजरले संयुक्त रुपमा चार्टर सर्टिफिकेट हस्तान्तरण गरेका थिए ।
दैलेख क्लवमा रहेका पदाधिकारीहरुलाई लायन्सवारे जानकारी गराउन नेपालगंज र सुर्खेतमा रहेका विभिन्न लायन्स क्लवबाट दैलेख आएका पदाधिकारीहरुलाई धन्यवाद दिदै जिल्ला अध्यक्ष बिष्णु शर्माले जिल्लामा तत्कालै रक्तदानका लागि सहजता अपनाउन ब्लड बैंकका लागि पहल सुरु गर्ने र सार्वजनिक सौचालयका लागि जिल्लाका सम्वन्धित निकायहरुसँग छलफल गर्ने बताएका छन् । प्रथम उपाध्यक्ष बासना थापाले जिल्लामा लायन्स क्लबको विस्तार गर्दै एक बर्षभित्र राम्रा कामहरुको सुरुवात गर्ने बताईन् । प्रशिक्षण तथा चार्टर सर्टिफिकेट हस्तान्तरण कार्यक्रममा काँक्रेबिहार लायन्स क्लवका अध्यक्ष सविता खड्का, तृतीय उपाध्यक्ष गौमाया फौजा, सचिव शारदा शेर्पा, भ्याली अध्यक्ष सम्राट गौतम, बुलबुलेका सचिव भुपेन्द्र वि.सी., भ्याली डिस्टिक चियरपर्सन उत्सव प्याकुरेल लगायतको उपस्थिती रहेको थियो ।









