बिष्णु शर्मा
दैलेख पौष ७ गते ।
नारायण नगरपालिका –२ का सर्वराज थापाले बिगत १५ बर्षदेखि तरकारी खेती गर्दै आएका छन् । १३ रोपनी जग्गामा उनले बर्षभरी विभिन्न तरकारी बाली लगाउने गर्दछन् । उनले मात्रै बर्षको ८ लाख सम्मको तरकारी बिक्रि गर्दछन् । अहिलेपनि उनले बारीमा लटरम्म टमाटर, काउली, बन्दा, आलु, लगाएका छन् ।
जग्गा भाडामा लिएर तरकारी लगाउन सुरु गरेका उनले तरकारी बिक्रि गरेर कमाएको रकमबाटै जग्गा आफ्नो नाममा खरिद गरेको बताए ।
घरका छोराछोरीले समेत तरकारी खेतीमा साथ दिएको र स्थानीय मलको धेरै प्रयोग गरेका कारण सदरमुकाम दैलेख बजारमा पनि तरकारी सहजै बिक्रि हुने थापाले बताए । जिल्ला बिकास समिति दैलेखका नायव सुब्वा खगेन्द्रबहादुर थापा आफ्नो बिहान बेलुकाको खाली समयमा तरकारी बारीमै काम गरेका हुन्छन् । उनको घर नजिकै लगाएको टमाटर, बन्दा, आलु र काउलीले बर्षभरी आफुले उपयोग गरेर पाँच लाख सम्मको बिक्रि गर्ने गर्दछन् । नारायण नगरपालिकामा कार्यरत कर्मचारीहरुले समेत तरकारी खेती गरेका छन् ।
यो त उदाहरण मात्र हो उनीजस्तै दर्जनौं व्यवसायीक कृषकहरु सँगै कार्यालयको काम सकेर बिहान साँझ तरकारी खेतिमै ध्यान दिने कृषकहरु समेत नारायण नगरपालिका २ जाहारकोटका धेरै छन् । नगरभित्रको एउटा वडाबाट मात्रै बार्षिक २ कारोडको तरकारी सदरमुकाममा खपत हुने गरेको जिल्ला कृषि बिकास कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला कृषि बिकास कार्यालय दैलेखका प्रमुख सुर्यनाथ योगीले जाहारकोटमा उत्पादन भएको तरकारी सदरमुकाम दैलेख बजारमा सहजै खपत हुने भएकोले कृषकहरु बिहानै डोकोमा बोकेर बिक्रिका लागि ल्याउने गरेको बताए । जिल्ला सदरमुकाम सँगै जोडिएको वडा भएकोले पनि तरकारी उत्पादन र बजारीकरणको समस्या नभएको कृषकहरु बताउँछन् ।
शिक्षक देखि सरकारी कार्यालयमा जागिर खाएका जागिरे र जागिर नभएका कृषकहरु समेत तरकारी खेतीतर्फ लागेका छन् । केही बर्ष अघि नेपालगंजबाट ल्याएको तरकारी खानुपर्ने बाध्यतामा रहेको दैलेख सदरमुकाममा अहिले एउटै वडाबाट बार्षिक २ करोडको तरकारी उत्पादन हुन थालेपछि बाहिरी जिल्लाबाट तरकारी आउन छुटेको छ । सदरमुकाम नजिकै भएकोले बजारको समस्या नभएको , मलिलो माटो, पानीको राम्रो व्यवस्था भएकोले समेत वडाभरिका सवैले मौसमी तथा बेमौसमी तरकारी उत्पादन सुरु गरेका हुन् । कृषकहरुले उत्पादन गरेको तरकारीलाई अँझै व्यवस्थित गर्नका लागि संकलन केन्द्रको आवश्यकता रहेको कृषकहरुले बताए । उन्नत कृषि उत्पादनका लागि सरकारी तथा गरै सरकारी संस्थाहरुले जिल्लाका बिभिन्न गाउँमा गरेको लगानी खेर गएको छ । जिल्ला कृषि बिकास कार्यालयको सामान्य सहयोग बाहेक बाँकी सबै काम यो वडाका कृषकहरु आफैले गरेका छन् । मेहनत गरे जुनसुकै काम पनि सफल हुन्छ भन्ने गतिलो उदारण बनेको यो गाउँका कृषक देखि कर्र्मचारीहरुले गरेको मेहनत सवैले सिक्नुपर्ने देखिन्छ ।









