१९ फागुन, काठमाडौं ।
मंगलबार साँझ सत्तारुढ कांग्रेस र एमाले शीर्ष नेताहरुको सम्पन्न बैठकले तत्काल सरकार नछाड्ने बताएका छन् ।
काँग्रेस नेताहरुले सोधेको जवाफमा एमाले नेताहरुले सरकारबाट हटिहाल्ने कुनै निर्णय नगरेको बताएका छन् । ‘हामी सरकारमा आएको संविधान बनाउने हो । संविधान निर्माणको काम अघि बढ्दैन भने सरकारमा बसिरहनु के औचित्य भन्ने दृष्टिकोण मात्र बनाएका हौं’ एमाले उपाध्यक्ष भीम रावलले बताए ।
एमाले स्थायी कमिटीको सोमबारको बैठकमा कांग्रेससँगको सहकार्यबारे प्रश्न उठेको थियो । कांग्रेस र एमालेले विपक्षी एमाओवादी मोर्चालाई वार्तामा आउन पुनः आहृवान गरेको छ । बैठकले विपक्षी मोर्चासँगको वार्तालाई तिब्रता दिने निर्णय समेत गरेको छ । ‘छिटोभन्दा छिटो वार्ता प्रक्रियामा आउन र संविधान निर्माण अघि बढाउन विपक्षी दलहरुलाई आहृवान गरेका छौं’ एमाले उपाध्यक्ष रावलले भने ।
बैठकले संविधानसभाको बैठक चाँडै बोलाउन संविधानसभा अध्यक्षलाई आग्रह समेत गरेको छ । सत्तारुढ दलहरुले बढीमा चैत १ गतेसम्म मात्र विपक्षी मोर्चासँग सहमतिको प्रयास गर्ने रणनीति बनाएको छ ।
माघ ११ गते प्रश्नावली समिति बनेपछि सत्तारुढ र प्रतिपक्षी दलहरुबीच औपचारिक रुपमा सम्वाद भएको छैन । सहमतिको प्रयासमा संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थागित भएपनि प्रमुख दलहरुबीच औपचारिक सम्वाद सुरु हुन सकेको छैन ।









