धमाका संवाददाता
दैलेख चैत्र ३ गते ।
दैलेख जिल्लाका बिभिन्न दुर्गम स्थानमा बसोवास गर्ने १ सय ४१ जना बृद्ध बृद्धाहरुलाई मोतीबिन्दुको अपरेसन गरिएको छ । मोतिबिन्दु समस्या भएकाहरुलाई आँखाको लेन्स परिवर्तन गरि नयाँ संसार देखाईएको छ । निशुल्क उपचार मार्फत मोतीबिन्दुको समस्यामा परेका बृद्ध बृद्धाहरुलाई लायन्स क्लबको आयोजनामा मोतीबिन्दुको अपरेसन गरिएको हो । आर्थिक अभावका कारण आँखाको उपचार गराउन नपाएर घरमै कष्टकर जीवन विताउँदै आएका १ सय ४१ जनालाई ठूलो र ३ जनालाई सानो अप्रेसन गरिएको छ भने ३ सय बढीको सामान्य उपचार गरिएको छ ।
लायन्स क्वल अफ ईन्टरनेशनल बि. टू एरिया नं. ६ अन्तरगत रहेका विभिन्न दश वटा लायन्स क्लवहरुको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सुर्खेत र दैलेखको संयुक्त आयोजनामा दैलेख सदरमुकाममा निशुल्क शिविर संचालन गरिएको थियो । तीन दिनसम्म संचालन भएको शिविरमा निशुल्क उपचार गरिएको लायन्स क्वल अफ दैलेखका उपाध्यक्ष बासना थापाले बताईन् । बिरामीहरुलाई बिहान बेलुका खानको लागि जिल्ला बिकास समिति दैलेखका स्थानीय बिकास अधिकारी हरि प्याकुरेलको बिशेष पहलमा जिल्लाका विभिन्न व्यापारिहरु र गैर सरकारी संस्थाहरुले १लाख ३ हजार सहयोग गरेका थिए । सहयोग गर्ने सबैलाई नेपाल रेडक्रस जिल्ला शाखा दैलेखले सम्मान पत्र प्रदान गरेको छ ।
आँखा शिविरको समापनमा बोल्दै निमित्त स्थानीय बिकास अधिकारी यामनारायण गौलीले अव स्थानीय निकायहरुले पनि आँखाको क्षेत्रमा नीतिगत रुपमा सहयोग गर्न पहल थालिने बताएका छन् । लायन्स क्लब परोपकारी संस्था भएकोले र आँखा देख्न नसक्नेहरुका लागि सहयोग गर्ने महत्वपुर्ण निकाय भएको भन्दै गौलीले लायन्स क्लब अफ दैलेखको सदस्यता लिएका छन् । लायन्स क्लब अफ दैलेखका अध्यक्ष बिष्णु शर्माले यामनारायण गौलीलाई पिन र ज्याकेट लगाएर सदस्यता सम्मान गरेका थिए । जिल्लाका विभिन्न स्थानहरुमा एक महिना अघि पुर्व तयारी चेकजाँच गरिएको र त्यहाँबाट अपरेसन गर्नका लागि छानीएका व्यक्तिहरुलाई उपचारका लागि जिल्ला सदरमुकाममा बोलाईएको प्राथमिक आँखा उपचार केन्द्र दैलेखका प्रकाश शाहीले जानकारी दिएका छन् ।
समापन कार्यक्रमलाई लायन्स क्वल अफ दैलेखका अध्यक्ष बिष्णु शर्मा, रेडक्रसका कोषाध्यक्ष सुरेन्द्र अधिकारी, शेरबहादुर थापा लगायतले आँखा शविरको बारेमा जानकारी दिदै आँखा शिविरका लागि आएका डाक्टर ईन्दु ढुंगेललाई धन्यवाद र बिदाई गरेका थिए । समापन कार्यक्रम रेडक्रस दैलेखका कार्यबाहक अध्यक्ष भेषराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम संचालन रेडक्रसका मन्त्री यामराज कटुवालले गरेका थिए ।









