विमला गुरुङ्ग
दैलेख चैत्र ११ ।
गाउँ र वडास्तर सम्मका लक्षित वर्गको नाममा आएको रकम टाँठाबाँठाहरुले थाहै नदिई अन्यत्रै खर्च गर्ने परिपाटीको अन्त्य गर्नका लागि अहिले वडा वडामा जनचेतना अभियान थालिएको छ ।
वडा स्तरमा गठन भएका नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च लगायतका पदाधिकारिहरुलाई स्थानीय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, सुशासन, सूचनाको हक, योजनाको सार्वजनिक परिक्षण लगायतका बिषयहरुमा अभिमुखीकरण सुरु गरिएको हो ।
नारायण नगरपालिका दैलेखबाट विनियोजन भएको बजेट कार्यान्वयन र त्यसको सदुपयोग मार्फत गुणस्तरीय विकास निमार्ण प्रक्रियामा वडा नागरिक मञ्चका पदाधिकारी र सदस्य, नागरिक सचेतना केन्द्रका सदस्यहरु, उपभोक्ता समितिका सदस्य तथा आम उपभोक्ताहरुको सहभागिता र भुमिकालाई मजबुद बनाउन नारायण नि.मा.वि दैलेख बजारको हलमा बुधवार अभिमुखीकरण सम्पन्न गरिएको छ ।
योजनाहरुमा अनुगमन तथा मुल्यांकन समितिको काम कर्तव्य र अधिकार,नागरिक सचेतना केन्द्रको निगरानीकर्ताको रुपमा काम, कर्तव्य र अधिकार, नगर स्तरीय सुपरिवेक्षण तथा अनुगमन समितिको संरचना, काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराउनुका साथै भ्रष्टाचार न्यूनिकरणका लागि नागरिकको भुमिका कस्तो हुनु पर्छ भन्ने विषयवस्तुमा सहजिकरण गरिएको थियो ।
नारायण नगरपालिका दैलेख र स्थानीय रकारको जबाफदेहिता अभिबृद्धि परियोजनाको समन्वयमा संचालन गरिएको गोष्ठिको सहजिकरण धमाका राष्ट्रिय दैनिकका सुशासन अभियानकर्ता विष्णुप्रसाद शर्माले गरेका थिए । कार्यक्रमको समन्वय सामुदायिक बिकास कार्यक्रम संयोजक पुर्णप्रसाद शर्मा र सामाजिक परिचालक सुचना श्रेष्ठले गरेका थिए । वडा नागरिक मञ्चका संयोजक शिवराज पुलामीको अध्यक्षतामा सम्पन्न गोष्ठीले आगामी दिनमा वडामा संचालन हुने सबै विकास निमार्ण कार्यहरुको अनुगमन गरी गुणस्तरीय विकास योजनाहरुको कार्यान्वयनमा निगरानी राख्न कार्ययोजना बनाउने तयारी गरेको छ









