सुर्खेत श्रावण २५– अखण्ड मध्यपश्चिमको माग गर्दै गरिएको आन्दोलन हिंसात्मक बनेको छ ।सुर्खेतका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयमा तोडफोड गरिएको छ । अखण्ड मध्यपश्चिमको माग गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले सोमवार बिहान जिल्लाका सरकारी कार्यालयहरुमा तोडफोड गरेका छन् । आन्दोलन क्रममा प्रहरी र आन्दोलनकारीहरुबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् ।आन्दालनकारीले जिल्ला प्रशासन, मालपोत कार्यालय, जिल्ला स्वास्थ्य, जिल्ला बन, कर्मचारी मिलन केन्द्र र झुप्रा बृहत खानेपानी संस्थामा तोडफोड गरेका छन् ।
पार्टी कार्यालमा आगजनी
आन्दोलनकारीले वीरेन्द्रनगरमा रहेका मूख्य दलका तीनवटा पार्टी कार्यालयमा आगजनी गरेका छन् । आन्दोलन हिंसात्मक बन्दै गएपछि माओवादी र एमालेको पार्टी कार्यालयमा रहेका सम्पूर्ण सामाग्री जलाइएको हो । आन्दोलनकारीले कांग्रेसको पार्टी कार्यालयमा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको छ । उग्र बनेका आन्दोलनकारीले कांग्रेसका सह–महामन्त्री पुर्णबहादुर खड्काको घरमा आक्रमण गरेका छन् ।घरमा आगजनी गर्न खोज्दा प्रहरीले करिब १२ राउन्ड हवाई फायर गरेको छ । घरमा आगजनी गर्न नदिएपछि आन्दोलनकारीले नजिकै रहेको एक सार्वजनिक वस जलाइदिएका छन् ।
बिहानैदेखि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुले दलका नेताहरु आन्दोलनमा आउनुको साटो लुकेर बसेको भन्दै झुप्रा खानेपानी संस्थाको कार्यालयमा तोडफोड गरेका थिए । त्यसलाई प्रहरीले रोक्न खोजेपछि झडप सुरु भएको थियो ।आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।
प्रदर्शनकारीले सरकारी कार्यालयमा तोडफोड सुरु गरेपछि केहीबेर अवस्था तनावपूर्ण बनेको थियो । सो क्रममा प्रहरीले लाठी प्रहार गर्दा केही आन्दोलनकारी घाइते भएका छन् ।तोडफोडबाट जिल्ला प्रशासन कार्यालयमा सबै भन्दा बढी क्षति पुगेको छ । आन्दोलनकारी प्रशासन कार्यालयको सिसी क्यामेरा र भवनका सिसा फुटाएका छन् ।आन्दोनकारीहरुले कार्यालमा प्रवेश गरेर एकाएक ढुंगामुढा गरेपछि प्रमुख जिल्ला अधिकारी बलदेव गौतम र अन्य कर्मचारीहरुले झ्यालढोका थुनेर जोगिने प्रयास गरेका थिए । यस्तै अन्य कार्यालयमा पनि तोडफोडका कारण क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।तोडफोड रोक्न र आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिनका लागि प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । त्यसपछि प्रदर्शनकारीहरु त्यहाँबाट भागेका थिए ।आन्दोलनकारीहरुले जिल्लामा रहेको राजनीतिक दलका पार्टी कार्यालयमा पनि तोडफोड गर्ने सूचना पाएपछि प्रहरीले पार्टी कार्यालयमा सुरक्षा दिइरहेको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी राजेशकुमार लाल कर्णले अन्य अप्रिय घटना हुन नदिनका लागि आफूहरु सर्तक रहेको जानकारी दिए ।शान्तिपूर्ण आन्दोलन गर्दा नेताहरुले नसुनेको भन्दै प्रदर्शनकारीहरुले तोडपफोड गरेका थिए । यसैबीच सुर्खेतमा आव्हान गरिएको बन्दले जनजीवन प्रभावित भएको छ ।प्रदेशहरुको सीमाङ्कनको विरोधमा अखण्ड मध्यपश्चिम नागरिक आन्दोलन संघर्ष समितिले सोमबार बन्द आव्हान गरेको छ । बन्दका कारण सुर्खेतमा यातायाता, कलकारखाना, उद्योग, बजार र शैक्षिक संस्थाहरु खुलेका छैनन् । बिहानैदेखि नागरिकहरु स्वतःस्फुर्त रुपमा सडकमा ओर्लिएर अखण्ड मध्यपश्चिमको माग गर्दै नाराबाजी गरिरहेका छन् । साभार









