धमाका संवाददाता
काठमाडौं, १२ भदौ ।
भारतलाई ट्राई ब्रेकरमाहराउँदै नेपालले २२ वर्षपछि यू–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित कम्प्लेक्सको मैदानमा शनिवार भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई नेपालले ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पहिलो उपाधिमा कब्जा जमाएको हो । २२ वर्षपछि दक्षिण एसियाकै च्याम्पियन बन्दा पनि नेपाली टिमका कप्तान विमल घर्ती मगर भने दुःखी छन् । खेलमा सोचेअनुसारको प्रदर्शन गर्न नसकेपछि उनले दुःख व्यक्त गरेका हुन् । यद्यपी खेल जितेकोमा उनले चित्त बुझाएका छन् ।उनले आफूहरुले राम्रो खेलेपनि अन्तिम समयमा सानो गल्ती हुनु दुर्भाग्य भएको बताए । उनले भने, ‘हामीले राम्रो खेल्दाखेल्दै पनि अन्तिममा कमजोर भइदिँदा विपक्षी बलियो भयो, हामीले ६ मिनेट होल्ड गर्न सकेको भए ट्राइब्रेकरमा जानै पर्ने थिएन ।’
यता, कप्तान बिमलले दक्षिण एसियामै इतिहास रच्न पाउँदा निकै खुसी लागेको बताए । ‘आजको खेल जितेर हामी इतिहाँस रच्न पाउँदा खुसी लागेको छ’, उनले भने, ‘सबैले माया गरिदिनु भएकोमा धन्यवाद हामी अझै राम्रो गर्ने प्रयास गर्नेछौं ।’









