धमाका संवाददाता
१ मंसिर, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरस्थित बाँगेशीमलमा सोमबार राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
सुर्खेत–जुम्ला सडक अन्तरगत वीरेन्द्रनगरको बाँगेशीमलमा भे १ त ५६८७ नम्बरको ट्याक्टरको पछाडी भागमा भे १ प ४०३५ नम्बरको मोटरसाईकल ठोक्किदा दुर्घटना भएको हो ।दुर्घटनामा परी मोटरसाईकल चालक वीरेन्द्रनगर नगरपालिका(६ का २८ वर्षीय रमेश वि.क. र उनका तीन वर्षीय छोरा सन्दीप वि.क.को उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ
दुर्घटनामा परी मोटरसाईकलमा सवार दैलेख बाँसी–३ का अमृत सुनार गम्भीर घाईते छन् । सुनारको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको ट्राफिक प्रमुख कविराम सेञ्चुरीले जानकारी दिए ।
घटनालगत्तै ट्याक्टर चालक फरार रहेकाले उनको खोजी जारी रहेको सेञ्चुरीले बताए । मृतक विक गत वर्ष सुर्खेतमा आएको बाढी पहिरोबाट विस्थापित भएर महिला प्रशिक्षण केन्द्रमा रहेको शिविरमा बस्दै आएका थिए ।









