धमाका संवाददाता
२९ माघ, काठमाडौं ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पार्टी अध्यक्षको जिम्मेवारी मोहन वैद्यलाई सुम्पन तयार भएका छन । तर, मोहन वैद्यले भने अध्यक्ष पदमा भन्दा पार्टीको राजनीतिक कार्यदिशामा जोड दिएका छन ।
तीन दिनअघि प्रचण्ड निवास लाजिम्पाटमा मोहन वैद्य र प्रचण्डवीच दुई माओवादी समूहवीचको एकताबारे छलफल भएको थियो । केही दिन यता दुबै माओवादी समूहका नेतावीच पार्टी एकताबारे सघन छलफलभइरहेको छ ।
फागुन १ गते जनयुद्ध दिवसको ऐतिहासिक दिन पारेर पार्टी एकताको तयारी गरिए पनि समयको अभावका कारण पार्टी एकता गर्न अझै केही साता लाग्न सक्ने नेताहरुले बताएका छन ।
तर, फागुन १ मा संयुक्तरुपमा जनयुद्ध दिवस मनाउँदै कुनै न कुनै रुपमा एकताको सन्देश प्रवाह गर्ने तयारीमा नेताहरु जुटेको स्रोतले बतायो । पार्टी एकताको भित्री तयारी बारे जानकारी दिँदै स्रोतले भन्यो– ‘अहिले सचिवालयका तर्फबाट छलफल भइरहेको छ । एमाओवादीबाट प्रचण्ड र कृष्णबहादुर महराले छलफलमा सहभागिता जनाएका छन् । भने वैद्य समूहका तर्फबाट मोहन वैद्य र रामबहादुर थापा बादललाई पार्टीले एकताको गृहकार्य गर्ने जिम्मा दिएको छ ।
तर, फागुन एक गते दुबै तर्फबाट वार्ता समिति वा कार्यदल घोषणा हुन सक्ने स्रोतले बतायो ।
अध्यक्षमा समझदारी बन्यो,अरु पदमा पनि समस्या नहुने
स्रोतका अनुसार प्रचण्डले मोहन वैद्यलाई भनेका छन कि पार्टीको अध्यक्ष तपाई बन्दा मलाई कुनै आपत्ति छैन । तर, वैद्यले जवाफमा प्रचण्डलाई भनेका छन पहिलेराजीनिति मिलाउनोस त्यसपछि तपाई नै अध्यक्ष बने पनि मलाई आपत्ति छैन ।
वैद्य पक्षका एक नेताले दिएको जानकारी अनुसार प्रचण्ड र वैद्यमा नेतृत्वबारे समझदारी बनेकाले एकताको सम्भावना नजिकिएको छ । तर, केही राजनीतिक विषयहरुमा मोहन वैद्यले उठाएका सवालमा सहमति जुट्न बाँकी छ ।
एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई पार्टीबाट बाहिरिएको अवस्थामा अब दोस्रो र तेस्रो तहको नेतृत्वमा पनि खासै समस्या नपर्ने स्रोतको दाबी छ । प्रचण्ड नै अध्यक्ष भएको अवस्थामा मोहन वैद्य बरिष्ठ नेता वा नारायणकाजी श्रेष्ठभन्दा माथि बरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना छ ।पार्टी अध्यक्ष मोहन वैद्य बनेको अवस्थामा प्रचण्ड बरिष्ठ नेता हुने र बरिष्ठ उपाध्यक्षमा नारायणकाजी अनि अर्को उपाध्यक्षमा महरा र बादलमध्ये एकजना आउने सम्भावना रहेको स्रोतले बतायो । महरा र बादलमध्ये एकजना उपाध्यक्ष र एकजना महासचिवका दाबेदार हुने सम्भावना छ ।
त्यसैगरी पार्टी सचिवमा दुबैतर्फबाट गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, वर्षमान पुनका साथै देव गुरुङहरु आउने सम्भावना छ ।
तर, पार्टी एकतापछि महाधिवेशन आयोजक समिति बन्ने भएकाले पदाधिकारीको विभाजन नगरी अध्यक्ष वा संयोजकमात्रै तोकेर महाधिवेशनसम्म जान सकिने अर्को पनि सहज विकल्प रहेको स्रोतको कथन छ । जस्तै– परि थापा समूहसँग पार्टी एकता गरिसकेपछि मोहन वैद्य समूहमा अहिले कोही पनि पदाधिकारी छैनन ।









