धमाका संवाददाता
सुर्खेत, १५ बैशाख ।
वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा विद्युतिय सञ्चार माध्यममा आवद्ध पत्रकारको समूह विजयी भएको छ । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २४ औं स्थापना दिवसमा भएको सो खेलमा छापा माध्यमलाई ३–१ गोलले विद्युतीय सञ्चार गृहमा आवद्ध पत्रकारको समूह विजयी भएको हो ।
वीरेन्द्रनगरको रंगशालामा भएको खेलको १९ औं मिनेटमा गणेश कार्कीले एक गोल गरेर विद्युतिय सञ्चार गृहमा आवद्ध पत्रकार समूहलाई अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा नारायण कोइरालाले समूहका लागि दोस्रो गोल हानेका थिए ।उनी विद्युतिय सञ्चार गृहमा आवद्ध पत्रकार समूहका हुन् ।
तर खेलको पहिलो चरणमा छापा माध्यम मा आवद्ध पत्रकारको समूहले कुनै गोल गर्न सकेन् । हाफ समय भएपछि गोविन्द देवकोटाले पेनाल्टी सुटबाट छापा माध्यममा पत्रकार समूहका लागि एक गोल गरे । विद्युतीय सञ्चार गृहका निरक कंडेलले पाएको पेनाल्टी भने सदुपयोग गर्न चुकेका थिए । तर ललित भट्टराईले आफ्नो समूहका लागि तेस्रो गोल गरेर विद्युतिय माध्यममा आवद्ध पत्रकारको समूहलाई अग्रता दिलाए । निकै दवावमा रहेको छापा माध्यमले गोल गर्ने थुप्रै अवसर पाएपनि सदुपयोग गर्न सकेन् ।
अन्तत एक गोलमा छापा माध्यममा आवद्ध पत्रकार समूहले चित्त बुझाउनु परेको थियो । निकै रोमाञ्चक खेलमा राष्ट्रिय र स्थानीय स्तरका सञ्चार गृहमा आवद्ध पत्रकार विच खेल भएको थियो ।









