जिल्लामा बेला बेलामा भिन्न भिन्न खाले अभियानहरु संचालनमा आएका हुन्छन् । खुलादिसामुक्त अभियान देखिका बिभिन्न अभियानहरुले जिल्लामा सार्थकता पाएको देखिन्छ । अव अभियानहरुलाई व्यवहारमा परिवर्तन गर्दै संस्थागत गर्न सक्नुपर्ने चुनौतीहरु पनि देखिएका छन् ।
अभियानहरु आफैमा नराम्रा भन्ने हुँदैनन् संचालनको क्रममा देखिएका चुनौतीहरु र अभियान सम्पन्न भएपश्चात त्यसलाई दिनुपर्ने दिगोपनामा देखिने समस्याका कारण ओझेलमा परेका अभियाहरु पनि हामिले देखिरहेका छौं ।
यो बर्ष आधारभुत शिक्षा सहित साक्षरता अभियान, संस्थागत सुत्केरी अभियान, पुर्ण सरसफाईयुक्त गाउँ अभियान, पुर्ण खोप अभियान लगायतका बिभिन्न अभियानहरुले चर्चा पाएको छ ।
जिल्लामा संचालन हुने बिभिन्न अभियानहरुमा कुनै न कुनै दातृ निकायले लगानी गर्नुपर्छ त्यो हाम्रो बाध्यता हो । परनिर्भरता बढिरहेका बेलामा हामिले अभियानहरु सहयोग बिना संचालन गर्न निकै चुनौती छ । अन्य निकायहरुले गर्ने सहयोगहरुलाई सकारात्मक र प्रभावकारी लगानी गर्नका लागि सुशासन र पैरवीका कुराहरु गाउँ गाउँबाट उठाउँदै अभियानमा साथ दिन सकेमा जिल्लामा संचालन हुने अभियानहरुको संस्थागत बिकास हुने र दिगो हुने देखिन्छ । विगत तीन चार बर्षदेखि चर्चामा आएको साक्षरता अभियानले यो बर्ष केही मात्रामा सफलता प्राप्त गरेको छ अँझै पुर्ण सफलताका लागि जिम्मेवार निकायहरुले चासो बढाउनुपर्ने देखिन्छ ।








