१२ भदौ, काठमाडौं ।
प्रमुख विपक्षी नेकपा एमालेले संसदमा प्रधानमन्त्री प्रचण्डमाथि प्रश्नै प्रश्न तेर्स्याएको छ । व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेताहरुले प्रचण्डसँग राजनीतिक तथा संवैधानिक प्रश्नहरु तेस्याएका हुन् । आइतबार विशेष समयमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्रीले भारतीय समकक्षीलाई पठाएको पत्र गोप्य रहन नहुने भन्दै संसद र जनतासँग किन लुकाइयो भनी प्रश्न गरे । रावलले संविधान संशोधनको विषयमा नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई पठाइएको भन्दै आपत्ति जनाए ।रावलले दुई जना उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले विशेष दूत बनाएर भारत र चीन पठाएकोमा समेत प्रश्न गरे । उनले के कति कारणले विशेष दूत पठाउनुपरेको हो भन्दै उपप्रधानमन्त्रीलाई विशेष दूत बनाइनु नै अनुपयुक्त रहेको बताए ।
उपप्रधानमन्त्री आफैं वार्ता गर्ने र सम्झौता गर्ने हैसियत राख्ने ओहोदाका व्यक्ति हुन् भन्दै रावलले राष्ट्रसंंघको परिभाषा र मान्यता विपरीत दूत पठाइएको बताए ।
‘संकटपूर्ण अवस्थामा द्वन्द्वरत पक्षबीच भयावह अवस्थामा कुनै निकाय नहुँदा विशेष दूत पठाइन्छ’ रावलले भने ‘अहिले के त्यस्तो उत्पात मच्चियो र विशेष दूत पठाइयो ?’
एमालेकै अर्का नेता तथा पूर्वकानुनमन्त्री अग्नि खरेलले प्रचण्डसामु थप प्रश्नहरु वर्षाए । उनले प्रचण्डसँग अब प्रधानमन्त्रीका रुपमा २ सय १९ दिन बाँकी रहेको भन्दै यसबीचमा के–के गर्नुहुन्छ भनी प्रश्न गरे ।
खरेलले भने– तपाईलाई म्यादी प्रधानमन्त्री नै त भन्दिँन तर तपाईहरुबीच भएको कपाली तमसुकअनुसार अब तपाईसँग २१९ दिनमात्र बाँकी छन, यसबीचमा तपाईले चुनाव गराउने, संविधान कार्यन्वयन गर्ने गुन्जायस मैले देखिरहेको छैन ।









