तीज पर्वको महत्व र यस भित्रका बिकृति

समा श्री

मैले देखेका तीजका दुई आयाम तीज पर्व किन र कसरी मनाउन थालियो ? यसको धार्मिक महत्व के छ ? तीजको बेला के कस्ता धार्मिक, सामाजिक, सांस्कृतिक रिवाजहरु पूरा गरिन्छ भन्ने विषयमा चर्चा गर्न आवश्यक छ जस्तो लाग्दैन किनभने यी विषयमा बर्षेनी अन्तरक्रियाहरु हुने गरेको छ । यसकारण यी विषयमा आम दिदीबहिनी, दाजुभाईहरु जानकार हुनुहुन्छ भन्ने मलाई लागेको छ ।
तीज पर्वका निशन्देह केही सबल र राम्रा पक्ष छन् जसले हाम्रो सामाजिक संरचनालाई मजबुत बनाइराख्न सहयोग गर्छन् । विगतमा चिहाउँदा प्रायश : धेरै चेलीबेटीहरुलाई नजिकै विवाह गरेर दिँदा पछि गएर रक्तसमिश्रण हुने डरले माइतबाट टाढा विवाह गरेर दिने चलन थियो । पूर्ण गृहिणी हुन बाध्य विवाहिता नारीहरू भौगोलिक दूरी र बाटोघाटोको असुबिधाको कारणले गर्दा चाहेको बेलामा माइत जान सक्दैन थिए ।
यसैले वर्षको एकपल्ट तीजको अवसर पारेर माइती पक्ष भेटने, पूजापाठ गरेर पतिको दीर्घायुको कामना गर्नुका साथै माइतमा खानपिनका र रमाइलो गरेर दुःख मेटने अवसरका रूपमा तीज लाई लिइएको देखिन्छ । यसै कारण तीजमा चेलिबेटी लिन दाजुभाईहरु उनीहरूकै घर पुग्छन् । अरुबेला माइत जान नदिने सासु वा परिवारहरुले पनि तीजमा कुनै पनि बुहारीलाई रोक्दैनन् र रोक्नुलाई पाप सम्झन्छन् । तीजमा आफ्नो पतिको दीर्घायुको कामना गर्दै २४ घण्टा निर्जल, निराहार व्रत बस्ने गरिन्छ । तर स्वास्थलाई ध्यानमा राखेर सचेत भएर तीज मनाउदा भगवान् रिसाउदैनन् र पतिको आयु कम पनि हुँदैन ।
एक विवाहित नारीको लागि तीज मुख्यतः पतिप्रति आस्थाको पर्व हो । आस्था मनोभाव हो र यसलाई प्रमाणित गर्नको लागि आफ्नो शरीरको, रोगको र व्यक्तिगत स्वास्थ्य अवस्थाको ख्याल नगरी चलिआएको चलन भन्दै निलाहार पानी पनि नपिएर पतिलाई देखाउनु आवश्यक छैन । तीज आस्था विश्वास र प्रेमको पर्व हो । विवाह पश्चात् एक नारीको सम्पूर्ण आस्था विश्वास र प्रेम पतिमा केन्द्रित हुन जान्छ । पतिबाटै परिवारको श्रृजना हुनेहुँदा तीजलाई पति प्रेम वा पारिवारिक प्रेम र स्नेह बढोत्तरी गर्ने पर्वको रूपमा परिभाषित गर्नु उपयुक्त हुन्छ । पत्निले निष्ठा, प्रेम, आस्था र विश्वासको प्रतीक मानेर पुजित गर्दा निश्चयनै पतिको हृदयमा पनि सोही भाव जागृत हुन्छ र यसबाट पति पत्नी बिच गाढा सम्बन्ध स्थापित हुन्छ । जहाँ पति पत्निमा गाढा प्रमोमय सम्बन्ध हुन्छ त्यहाँ परिवार अवश्य खुसी हुन्छ । तीज एकातिर मानवीय भावनात्मक पक्षसँग सम्बन्धित छ भने अकोतिर यो धर्म र संस्कृतिसँग पनि जोडिएको छ । परिवारमा नारी नै संस्कृति र परम्परालाई धान्दै यसलाई सकारात्मक रूपमा पालना गर्ने र आफ्ना सन्ततीलाई पनि पालना गर्न लगाउने मुख्य कर्ता हो । परिवारमा चालचलन र परम्परागत कुराहरूलाई एक असल गृहिणीले नै व्यवस्थित र स्थापित गर्छिन् भने यही कुरा आफ्ना सन्तानहरुलाई पनि सिकाउँछिन् । यसले एकतातिर परम्परा र संस्कृतिको जगेर्ना गर्दछ भने अर्कोतिर व्यवस्थित र अनुशासित परिवार कायम गर्न मद्दत गर्छ ।
धर्म वा ईश्वरमा विश्वास गर्ने मानिस कहिले पनि एक्लो हुँदैन । ईश्वरप्रतिको आस्थाले मानिसमा उच्च इच्छा शक्तिको प्रादुर्भाव हुन्छ, नैतिक बल र अदम्य साहस उत्पन्न गरिदिन्छ । फलतः मानिस कूकर्म गर्नबाट रोकिन्छ र पौरखी र कर्तब्य परायण     हुन्छ । यसैलाई गीतामा कर्मयोग भनिएको छ । कर्मयोगीहरु सदैव सन्मार्गमा अघि बढ्छन् र आशावादी हुन्छन् । व्यक्ति व्यक्तिबाट समाज र समाजबाट देश बन्दछ । समाजका हरेक व्यत्कि सन्मार्गमा लागे पुरा देश नै व्यवस्थित अनुशासित र कर्तब्यपरायण हुन्छ ।
मूलतः तीज आस्था प्रेम र सदभावनाको पर्व भएता पनि बदलिदो परिवेशमा यसमा अनेकन् आडम्बरहरु भित्रिएका छन् जुन समाजको लागि अजिर्ण बनेर देखा पर्दैछ । टाढाबाट माइत आएका चेलीहरु यात्राका कारणले गलित हुने र भोलिपल्ट निलाहार ब्रत बस्ने हुँदा स्वास्थ्यको ख्याल गर्दै माइतिपक्षले अघिल्लो दिन दूधयुक्त पौष्टिक परिकार खुवाउने गरिन्छ र यसैलाई दर भनिन्छ । स्नेह र प्रेम दर्शाउँदै चेलीबेटिलाई दर खुवाउनु निश्चय नै राम्रो पक्ष हो तर गच्छे भुलेर आडम्बरी हुँदै महिनादिन अघिदेखि अनुत्पादक खर्च गर्नु र पुगिसरि आएको देखाउन विभिन्न भोजभतेर गर्नु निश्चय नै तीजमा बित्रिएको विकृत चलन     हो । परिवारको व्ययभार बढाउने यस्ता कार्यतर्फ हरेक नारी सजग रहन आवश्यक छ ।
एक विवाहित नारीको लागि तीज मुख्यतः पतिप्रति आस्थाको पर्व हो । आस्था मनोभाव हो र यसलाई प्रमाणित गर्नको लागि आफ्नो शरीरको, रोगको र व्यक्तिगत स्वास्थ्य अवस्थाको ख्याल नगरी चलिआएको चलन भन्दै निलाहार पानी पनि नपिएर पतिलाई देखाउनु आवश्यक छैन । पानी नपिउँदा शरीरमा पानीको मात्रा घट्छ, जलवियोजन भएर व्रतालुको अवस्था गम्भीर हुन सक्छ । त्यस्तै शरीरलाई अत्यावश्यक खानेकुरा नखाँदा ग्यास्ट्रिक, सुगरका रोगीहरुको अवस्था गम्भीर हुनसक्छ । परिवर्तित समयमा अन्धविश्वासमा लागेर आफ्नो शरीरको ख्याल नगरी तीजमा पानी पनि नपिइ व्रत बस्नु कहाँसम्म अपरिहार्य हो, त्यो सबैले बुझ्नु जरुरी छ ।
धेरै जसो महिलाहरूले अचेल साँझपख पानी, फलफुल खाने गर्छन् यो सकारात्मक पक्ष हो । पतिले पनि पत्निको मनोभाव बुझेर त्यसलाइृ कदर गर्दै पानी र फलफुल खान दिन्छन् । अहिलेको परिवेशमा लगभग सबै महिलाहरू कामकाजी भएकोले धर्म, रिवाज, चलनलाई आँखा चिम्लेर चल्दै आएको परम्परा अनुसार मनाउन पर्छ भन्दै तीज मनाउँन जरुरी छैन । आस्था, प्रेम र विश्वासको प्रतीक तीजलाई आफू स्वस्थ्य भएर मनाऔँ, पतिसँग भावनात्मक सम्बन्धको बिस्तार गरौँ, आडम्बर र अन्धविश्वासमा लागेर आफूलाई नै अप्ठेरोमा पार्दै पति र परिवारलाई दुःखहुने परिस्थिति निम्त्याउने कार्य नगरौँ ।हिजो आज धेरै बिकृतिहरु देखा परेको छ यस्ता विकृतिलाई वहिस्कार गर्दै आफ्नो चाड पर्वको जोगेर्णा गर्नु हाम्रो दाईत्व र कर्तव्य पनि हो समस्त नेपाली नारीहरूमा तीजको मङ्गलमय शुभकामना ।
दमक अनलाईन बाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार