दैलेख सदरमुकाममा तृतीय दैलेखी यूथ कप खेल महोत्सव हुने भएको छ । आयोजक दैलेखी यूथले रिपोर्टर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा कात्तिक ५ गतेदेखी १० गतेसम्म खेल महोत्सव चल्ने बताएको छ ।
दैलेखी युथका अध्यक्ष प्रेम शाहीले यूवाहरुलाई लागु औषध तथा जुवा तास खेल्नबाट रोक्न खेलको माध्यमद्धारा सकारात्मक बाटोमा लैजान अभिप्रेरित गर्न खेल महोत्सव गर्न लागेको बताए । दशैं तिहार विदामा जिल्ला भित्र तथा बाहिरबाट घरमा आएका यूवाहरुविच भेटघाट गरि सिकाई साटासाट तथा खेलको माध्यमद्धारा जिल्लाको पहिचान गराउनका लागि ३ वर्ष अघिदेखी प्रत्येक वर्ष खेल महोत्सवको आयोजना गरिएको शाहीले बताए ।
अध्यक्ष शाहीले अभियानमाा होमिदा समेत जिल्लाका स्थानीय निकायहरुबाट सहयोग नपाएको गुनासो गरे । कार्यक्रममा युथका सचिव मनोज भण्डारी र कोषाध्यक्ष सुसिल देउजाले खेल महोत्सवका बारेमा प्रष्ट परेका थिए । युथले दिएको जानकारी अनुसार ४ खेलहरु भलिवल, फुटवल, ब्याटमेन्टिन र टेवुलटेनिस खेलहरु खेलाईने छ । ४ खेलका लागि ६२ टिमले भाग लिने आयोजकले अनुमान गरेका छन् । खेलका लागि सदरमुकाममा ६ सयको हाराहारीमा खेलाडीहरु आउने अनुमान आयोजकले गरेको छ ।
भलिवल महिला र पुरुष दुवै हुनेछ । यूवाहरुलाई सामाजिक अभियानमा अग्रसर गराउनका लागि दैलेखी यूथले विभिन्न क्रियाकलापहरु गरिरहेको जनाईएको छ । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गोविन्द देव भारतिले दैलेखको खेलकुद विकासको लागी दैलेखी युवाहरुको यो प्रयासले समग्र दैलेखलाई खेलकुदका माध्ययमबाट चिनाउनको लागि सहयोग पुग्ने बताउदै अभियानमा होमिएको युवाहरुलाई सबैको सहयोग आवश्यक रहेको औल्याए ।









