पुस ९ गते शनिबार र पुस १० गते आइतबार ईश्वी संवतको नयाँ वर्षका दिन गरी दुई दिन जिल्ला विकास समिति दैलेखको सभाकक्षमा कलाकार दिपक रावलद्वारा निर्माण गरेको नेपाली चलचित्रको च्यारिटी शो सफलताका साथ सम्पन्न भयो । माइकिङ गरी प्रचार प्रसार गरेको र गत पुस ६ गते रेडियो धु्रबतारा एफ. एम.को सातौं वार्षिक उत्सवको अवसरमा टुंडिखेलमा भएको विशेष समारोहमा समेत जानकारी गराइएको भएपनि च्यारिटी शो हेर्न आउने दर्शकहरु भने निकै पातलो देखिएको थियो ।
राइट दाजुभाईले सर्वप्रथम विमान उडाउँडा पनि चार पाँच जना मात्रै ब्यक्ति उडान हेर्न उपस्थित थिए रे भने जस्तै दैलेखका एक होनहार युवा कलाकारको नौलो प्रयासलाई आशा गरे अनुसार उपस्थिति नदेखिए पनि
दुबै दिन शान्तपूर्वक सौहाद्धपूर्ण वातावरणमा च्यारिटी शो सम्पन्न भयो । दुबै दिन करिब करिब आधा आधि मात्रै हल भरिएको थियो । तर पनि दर्शकलाई भरपूर मनोरञ्जन दिन र परापूर्व कालका मानिसहरु कस्ता थिए भन्ने कुराको सामान्य परिचय दिन भने चलचित्र सफल भएको पाइन्छ ।
अनाथ बालबालिकाहरुको लागि सक्रिय संस्था द चिल्ड्रेन ब्याण्डले च्यारिटी शोको आयोजना गरेको भएपनि त्यसमा रेडियो ध्रुबतारा एफ. एम. ले पनि सपोर्ट गरिएको थियो । पर्याप्त प्रचार प्रसार नहुनु र नयाँ काम नै भएकाले त्यसका केहीं कमी कमजोरीलाई पनि केलाउनु आवश्यक देखिन्छ । दिपक रावल आफै निर्देशक पनि रहेको चलचित्र ‘आदि मानव’ आदिम कालका मानवको जीवन शैली देखाउने प्रयास भएकाले नाम पनि आदिम मानव राखिएको भए अझ सुहाउने थियो । दैलेख घर भएका कलाकार दिपक रावलको यो पहिलो प्रयास नै हो भने चलचित्र सफल नै मान्नु पर्दछ । तर चलचित्र भित्र देखाउन खोजेको हरेक कुराहरुमा नेपाली भाषा स्पष्ट आइरहेकाले यो २५० वर्ष पछिको पो दृष्य देखाउन खोजेको भान प¥यो ।
नेपालमा खस् नेपाली भाषाले साम्राज्य फैलाएको पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेसंगै ‘एक दिन नारद सत्यलोक पुगिगया, लोकको गरुं हित भनी’ भन्ने जस्ता आदिकवि भानुभक्त आचार्यले जनबोलीमा प्रचलित खस् भाषाबाट रामायण लेखी गाउँ ठाउँमा प्रचार प्रसार भएदेखि मात्रै हो । त्यो बेलाको वातावरणमा पूर्वतिर लिम्बुवान क्षेत्रमा लिम्बु भाषा, उपत्यका भित्र भए नेपालभाषा र मधेशमा मैथिली भाषा मात्रै बोल्ने गरिएको थियो । पर्वत वा पश्चिम नेपालमा भारतबाट आएका खस्बाहुनहरुको बसोबाससंगै नेपालमा नेपाली भाषाको विकास भएको इतिहास छ । त्यो कुरा चलचित्रमा समावेश गर्नुपर्ने थियो । तर नेपाली भाषाको शुद्ध प्रयोगले नमज्जा लाग्यो ।
छोटो समयमा निर्माण गरिएको भनिएको चलचित्र आदि मानवको अर्को कमजोरी भनेको नायकले लाउने क्याप हो । ‘वन्ली च्यारिटी शो’ भनी पर्दाको बीचमा देखिएको अक्षरले अन्तिम समयसम्म पनि आँखालाई प्रदुशन गरिरहेको भान भयो ।
आधुनिक मार्वल बिछ्याएको बाटोमा प्रेमि प्रेमिकाको पहिलो भेट हुनु, रानीले क्रिम पाउदर प्रयोग गरेको देखाउनु, लुगाफाताको प्रयोगले झन झन आदिम होइन आधुनिक मानिस जस्तो भान पर्न गयो । राजाको सिंहासन पनि अत्याधुनिक भएकाले चलचित्रको नाम सुहाउँदो भने पटक्कै देखिएन । ज्वाईं खोज्दै गरेको ससुरोले प्रत्येक दिन आफू खोलामा गएर नुहाउने त्यो छोरीसंग संगै पठाउने चलनले त्यो बेला मातृसतात्मक समाज देखाउन खोजेको भएपनि चलचित्रमा अस्पष्ट भाव देखिएको छ ।
‘बचाउ बचाउ’ भनी आफूप्रति राजकुमारले माया गरेको छ छैन भनी आफ्नो प्रेम परीक्षा आफै गरिरहेकी राजकुमारीलाई भेटेर सामान्य प्रेमवार्ता गर्दा चलचित्र जस्तो सतही रुपमा अगाडि बढेको थियो, राजकुमारसंग आदिवासीहरुले गर्ने संघर्ष, बंदेल लखेड्दा संगै जाने गरेको र काँढा घोचेको देखाएर प्रेमलाई अगाडि बढाउन खोजेको भने बनावटी जस्तो देखियो । धनु विधा केटीहरुले पनि सिक्थे भन्ने सन्देश दिनु राम्रो छ । राजाको अत्याचार बढेको देख्न नसकेका मानिसहरुले एकताको लागि गरेको प्रयास सराहणीय देखिन्छ । अझ फौजसंग दोहोरो भिडन्त हुँदा राखिएको धून नेपालभाषाको चलचित्र ‘सिलू’ बाट हुबहू लिएको पाइनुले चलचित्रको मौलिकता मै प्रश्न चिन्ह खडा गरेको पाइयो । यो कुनै विदेशी चलचित्र हेरर नेपालीमा पनि त्यस्तै खालको एउटा फिल्म बनाउने दिपक रावलको प्रयास त होइन ?
मध्यान्तर पछि ३ वर्ष अगाडिको कुरा दाजु बहिनी भएको देखाउने प्रयास स्पष्ट छैन । शक्ति कायम राख्न राजकुमारलाई जिम्मा दिने गरेको तर दाजु भाई बीच षडयन्त्र पछि जंगलमा शिकार खेल्न जाने क्रममा पनि आफ्नै दाजुको हत्या गर्न सफल भाइले राज्य नचलाई आपूm महारानीबाट राजकुमारका जन्म भएको कुरालाई लिएर महारानी र राजकुमार बीचको बिवाद देखाउन खोज्नु चलचित्रको कमजोरी पो थियो कि ?










