व्यस्त जीवन, कलाकारिताको चटारो । झण्डै तीन दशकअघि अभिनेता हरिवंश आचार्यले पेटकै कारण असजिलो महसुस गर्नुपर्रुयो । यसबाट मुक्ति पाउन उनी योगको शरणमा पुगे ।
‘योग गरेर पेट त घटेन तर स्वास्थ्य भने राम्रो भयो,’ उनको अनुभव छ । योग सुरु गरेपछि उनले स्टामिना राम्रो भएको महसुससमेत गरे रे । ‘अहिले गीत गाउँदा, हिँडदा, काम गर्दा स्वाँस्वाँ हुँदैन,’ उनले भने, ‘यसमै खुसी छु ।’
मर्निङवाक गर्न निस्किँदा टोलमा गर्ने प्राणायमहरूबाटै योगका केही आसन सिकेको उनले सुनाए । मर्निङवाकमा गएर फर्किएपछि योगका केही आसनहरू गर्छन् उनी । कपालभाती, अनुलोम विलोमलगायतका अभ्यास पेटका लागि उपयोगी हुने उनको सुझाव छ । योगका केही आसनहरू उनले श्रीमतीबाट समेत सिकेको बताइन् । ‘उनी –श्रीमती) त योग धेरै राम्रो गर्छिन, तर म उनको स्पिडमा गर्न सक्दिनँ,’ उनले भने ।
नायिका माला लिम्बू दिमाग र शरीर फिट राख्न योग र ध्यान गर्छिन् । यसले रिल्याक्स हुन, एकाग्र हुन, होसियार रहन सहयोग पुग्ने उनलाई लाग्छ । केही वर्षअघि नायिका झरना बज्राचार्य पनि आध्यात्मिक योग प्रशिक्षणतिर लागेकी थिइन् ।
बलिउडमा भने योग गर्ने सेलिब्रिटीको लिस्टमा शिल्पा शेट्टी अग्रपंक्तिमा पर्छिन् । झन्डै एक दशकदेखि फिल्मबाट टाढा रहेकी शिल्पा सुन्दरता, फिटनेस र योगकै कारण चर्चामा आउने गरेकी छन् । १६ वर्षदेखि उनी योग गर्दै आएकी छन् । हालै एउटा कार्यक्रममा उनले ‘म राम्री देखिन योग गर्दिनँ’ समेत भनेकी थिइन् । ‘मैले कहिले पनि राम्रो फिगरकै लागि योग गरिनँ । गर्धनसम्बन्धी समस्या देखिएपछि यो यात्रा थालें,’ उनले भनेकी थिइन, ‘फिटनेस नै मेरो टार्गेट हो । र योगले मेरो यो टार्गेट पूरा गर्रुयो ।’शिल्पाले योगलाई खुसी प्राप्त गर्ने बाटोको रूपमा व्याख्या गरेकी थिइन् । उनका योग भिडियो र योग टिप्सहरू युटयुबमा थुप्रै भेटिन्छन् ।
बलिउडकै ‘एभर योङ अभिनेता’ को उपमा पाएका अनिल कपुरले एउटा टेलिभिजन अन्तरवार्तामा ‘सधंै झक्कास रहन योग गर्छु’ भनेका थिए । उनकी छोरी सोनम कपुरले ‘सुन्दरता कायम राख्न योग गर्ने’ गर्छिन् । लारा दत्तले गर्भवती भएका बेला गरिने ‘प्रिनाटल योग’ को भिडियो युटयुबमा १ करोड पटक हेरिइसकिएको छ । त्यस्तै अमिताभ बच्चन, करिष्मा कपुर, अमिसा पटेल, रानी मुखर्जी, विपाशा वसु, कंगना रनावत, ज्याकलिन फर्नान्डेज, आलिया भट्ट, नरगिस फाकरी, कृति सानोन, दीपिका पादुकोण, इलियाना डिक्रुज, करिना कपुर, सैफ अलि खानसमेत योग अनुसरण गर्नेमा पर्छन् । हलिउड अभिनेता जस्टिन टिम्बरलेकलाई महासागरको बीचमा समेत योग गर्न मन लाग्दो रहेछ । गायिका लेडी गागा कोही साथी भए हाइहिलमै पनि योग गर्छिन् । ब्राजिलियन सुपरमोडल गिजेल बन्डचेन सोसल मिडियामा योगाभ्यास गर्न रुचाउँछिन् । गायिका, अभिनेत्री म्याडोना पनि स्टेज सोहरूमै योग गर्छिन् । कलाकारहरू जेसिका बेल, जेनिफर एनिस्टन, केट हडसन, रोबर्ट डाउनी जुनियर, रिज विदरस्पुन, जेसिका अल्बा पनि नियमित रूपमा योग गर्नेमा पर्छन् ।






