माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोलि सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा सार्वजनिक गर्न आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अधिकारीका अनुसार त्रुटिहरूसमेत सच्चाएर आज नतिजा विश्लेषण भइरहेको छ । सबै तयारी पूरा भएकाले भोलि कार्यालय समय सुरु हुने समयमै नतिजा प्रकाशन गर्ने ती अधिकारीको भनाइ छ । एक अधिकारीले भने, ‘हामीले सबै तयारी पूरा गरेका छौँ, फस्ट आवरमै रिजल्ट सार्वजनिक गर्ने तयारीमै छौँ ।’ पनिकाले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो ।
एसइईका नामबाट कक्षा १० को परीक्षा प्रकासन हुन लागेको पहिलो पटक हो । यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो । सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहको रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसिई नामाकरण गरेको छ ।
पनिकाले अघिल्लो वर्षदेखि लेटर ग्रेडिङ सिस्टममा नतिजा प्रकाशित गर्न थालेको छ । ऐनमा कक्षा १० को परीक्षा क्षेत्रीयस्तरमा हुने भनिए पनि राष्ट्रिय परीक्षा बोर्डको संरचना व्यवस्थित नभएका कारण विगतमा एसएलसी परीक्षा सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षा सञ्चालनदेखि नतिजा सार्वजनिक गर्ने काम गरेको छ ।









