धमाका संवाददाता
मंसिर १९, दैलेख
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एक साताभित्रै प्रत्यक्षतर्फको मतपरिणाम आउने दाबी गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लवको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउने गरि आयोगले निर्देशन दिएको बताए । मतगणनामा कुनै अप्रिय घट्नानहोस् भनेर निर्वाचन अधिकृतलाई सिसिटीभी राख्नको लागि पनि निर्देशन दिइएको उनको भनाइ छ । ‘मतगणना छिटो छरितो गर्नुपर्छ, यहीअनुसार हामीले केन्द्रबाट निर्देशनजारी गरिसकेका छौं,’ यादवले भने।
मतदान सकिएलगत्तै सुरक्षित तवरले मतपेटिकाहरु केन्द्रमा पु¥याउनको लागि समेत सम्बन्धित कर्मचारीहरु तयारी अवस्थामा रहेको यादवले जनाए । ‘मतगणनाको लागि जनशक्ति तयारी अवस्थामा छ, भूगोल र स्थान हेरेर उपर्युक्त ठाउँमा गणना गरिने जानकारी गराइन्छ’ उनले थपे । प्रमुख निर्वाचन आयुक्त यादवले चुनावी सुरक्षाको बन्दोबस्त राम्रो रहेको पनि उल्लेख गरेका छन् । मौन अवधिमा आचारसंहिता विपरीत काम भएको पाइए आयोगले कडाभन्दा कडा कारबाही गर्ने यादवले चेतावनी दिए । ‘कहीँकतै यस्तो उल्लंघनका घटनाहरु घटेको पाइए आयोगले ठाडै कारबाहीभन्दा पनि उल्लंघनको प्रकृति हेरेर स्पष्टिकरण सोध्छ,’ उनको भनाइ थियो । पहिलो चरणमा विकट हिमाली जिल्लामा ६५ प्रतिशत मत खसेको भन्दै उनले दोस्रो चरणको निर्वाचनमा ७० प्रशितभन्दा बढि मत खस्ने अनुमान गरे ।









