
बारा र पर्सा जिल्लामा आइतवार आएको भीषण हावाहुरीमा परि पीडित भएका परिवारलाई सहयोगका लागि दैलेखबाट ३३ हजार ९ सय ४५ रुपैयाँ राहत संकलन भएको छ । मंगलवारदेखि राहत संकलन अभियान सुरु गरिएको हो ।
राहत सहयोगका लागि नागरिक समाज दैलेखका संयोजक खड्गबहादुर सिजापती सहितको टोलीले दुईदिन सम्म रकम संकलन गरेको छ । बारा र पर्साको दुरीलाई मध्यनजर गर्ने हो भने दैलेख करिव ७ सय किलोमिटर टाढा पर्दछ । राहत संकलन अभियानमा सबै भन्दा धेरै राजु स्टोर्सबाट २१ सय रुपैयाँ, त्यसपछिको ठूलो रकम हमाल भाँडा पसल, व्यक्तिगत तर्फ सुधा कोइराला र गैसस महासंघबाट एक–एक हजार रुपैयाँ प्राप्त भएको छ ।
संकलित रकम बिहीवार दैलेखका प्रमुख जिल्ला अधिकारी मार्फत प्रभावित जिल्लामा पठाइने अभियान सदस्य पत्रकार अमर सुनारले जानकारी दिए । सरकारले कसैबाट पनि राहत संकलन नगर्न आग्रह गरेको कारण बुधवार दिउँसोदेखि नै अभियान स्थगित गरिएको छ ।









