मेरो पत्रकारिताको पहिलो अक्षर ‘धमाका’


एसएलसी पछिको खाली समय, बरालिरहेको एक युवक । समयको सदुपयोग गर्छु भनेर सिक्दै गरेको कम्प्युटर । समय सन्दर्भ २०६९ को हो । जब मेरो पत्रकारिताको पहिलो अक्षर धमाका दैनिकमा प्रकाशन भएको थियो । पत्रिका पढ्ने पाठक सबैले नयाँ नाम देख्दा कौतुहलता, उत्सुकता साथै मलाई चिनाकाहरुले पत्रकारिता सुरु गरेछ केटोले भनेका शब्दहरु अहिले पनि मेरो स्मरणमा नाचिरहन्छन् । हुनत पत्रकारिता सुरु गर्नु र पत्रकारको परिचय पत्र होस् वा पत्रकारको संगठनको सदस्यता पाउनु ठूलो कुरा होइन् । तर त्यही पत्रकारिताको आचारसंहितालाई टेकेर सच्चा पत्रकार बनी लामो समयसम्म पत्रकारिता क्षेत्रमा टिकिहरनु र पेशा नै गौरब ठानी अघि बढ्न सक्नु ठूलो कुरा हो । जब मैले २०६९ सालमा तत्कालिन नेकपा एमाले निकट प्रेस चौतारी नेपालको सदस्यता पाए तब पत्रकारिताको केहि अंश देख्न र सुन्न पाएको थिए । सँगसगै २०७० मा नेपाल पत्रकार महासंघ दैलेख शाखाको सदस्यता पाएको मेरो पत्रकारिताको यात्रा धमाका दैनिकबाट सुरु भएको हो ।
घर छिमेक र मलाई चिन्ने मान्छेहरु मलाई सम्झाउथे ‘हेर बाबु यो पत्रकारको पेशामा नलाग, नत यसमा पैसा छ, न त जीवनको सुरक्षा । यस्तै यस्तै कुराहरु गुञ्जिरहँदा कुन चाँहि आमा आफ्नो छोराको पिर लिनबाट अछुतो रहन्छिन् र ? जब जब मेरी आमा चलचित्रमा पत्रकारको त्याग, श्रम र ज्यान समेत गुमाएको वियोगान्त घटनाहरु देख्नुहुन्थ्यो तब तब काँधमा राखेको हरियो पछ्यौरी लछप्प आँसुले रुझाउनु हुन्थ्यो अनी मेरो नजिकै बसि फेरी सम्झाउन थाल्नु हुन्थो ‘हेर बाबु जसो तसो खान पुगेकै छ, सानै भए पनि बोडिङ्गमा जागिर खाएकै छस्, यो भन्दा अरु के चाहिन्छ र ? घरको एक्लो छोरा हाम्रो साहारा भनेको नै तँ होस् । बेकारमा पत्रकार बनेर दुस्मनहरु किन जन्माउछस् । आमाको यस्तै यस्तै भनाई सुन्दा मेरो पनि मनै त हो । लाग्थ्यो होस् पत्रकारिता छाडेर गाउँमै बस्छु । तर यतिकै आफ्ना सपनाहरुलाई मारेर खुसी हुन गाह्रो हुँदो थियो । अन्तत कुशल पत्रकार बन्ने सपनाले मलाई गाउँमा सुत्न र बोर्डिङ्गको जागिर खान दिएन् । झोलामा एक जोर कपडा राखी विस २०७१ मा दैलेख सदरमुकाम प्रवेश गरेको थिए ।
मलाई अझै सम्म याद छ पत्रकारिता सुरु गर्नुभन्दा पहिले गाउँबाटै स्ंयमसेवक रुपमा धमाकामै गाउँका घटनाहरुलाई समाचार बनाएर पठाउँथे र ती छापिन्थे पनि । दैलेख सदरमुकाम आईसकेपछि झिसमिसे उजेलीमा सबैको पसलको अगाडी र घरघरमा पत्रिकाको बण्डल समातेर बाड्दै हिडेको त्यो समय अहिले पनि ताजै छन् । साँच्चीकै सुरुवाती अवस्था सम्झदा घरि गहभरी आँसु हुन्छ । त्यो संघर्ष र अदम्य प्रयासले गर्दा आज म यहाँ छु । एक हिसावले भन्दा धमाका दैनिकलेनै मलाई हकर देखि हाकिम बनायो । त्यसैमा गर्व पनि लाग्छ । आधिकारीक रुपमा पत्रकारको परिचय पत्र घाँटीमा झुण्ड्याएर धमाका दैनिक पत्रिकाको सेटिङ्ग देखि अन्य कामहरु काम गर्ने मौका पाए । तीन बर्षे धमाका राष्ट्रिय दैनिक सँगको यात्रामा धेरै अग्रज पत्रकारहरुसंगको संगतले धेरै कुराहरु सिकायो । आफुसँगको दौतरी पत्रकारहरुसंग धेरै रमाईला क्षणहरु पनि बिताइयो । धमाकामा काम गर्दैै गर्दा भारतको मुम्बईबाट प्रकाशन हुने नेपाल न्यूजमा दैलेख संवददाताको रुपमा काम गरे । त्यस बेला मलाई सबैले हिक्मत कुमार रतन भनेर चिन्थे । कतिले त अहिले पनि रतन भनेर बोलाउँछन् । म पत्रकारितालाई बुझ्दै चिन्दै र सिक्दै अघि बढिरहेको थिएँ, पत्रकारिताको प्यास दिनदिनै बढिनै रहेको थियो । मलाई जहिल्यै घरबाट मेरी आमाले फोन गर्दा पहिलो प्रश्न कता छस् बाबु, सन्चै त छस् नी ? अनी बल्ल खाना खाइस् हुन्थ्यो ? किनकी मेरी आमालाई मेरो चिन्ताले जहिल्यै पिरोलिरहन्थ्यो । झन उहाँको त्यो चिन्तामा आगोमा घिउ थपेझै भयो । जब उहाँलाई एक जना छिमेकीले तत्कालिन द्धन्द्धताका भएको डेकेन्द्र हत्याकाण्डको बारेमा सुनाईदिएछ । मलाई अझै पनि याद छ गाउँबाट सहर आउन लाग्दा मेरी आमा मेरो झोला समाई मेरो बाटो छेक्दै भन्नु हुन्थ्यो ‘बाबु डेकेन्द्रलाई जिउँदै खाल्डोमा गाडेर मारेका हुन अरे, त किन अरिंगालको गोलामा बस्न रुचाइराको छस् ? जानु पर्दैन सहर गाउँमै बस् । अनी मैले मेरो आमालाई प्रतिबद्धता ‘होेइन् आमा तपाईको छोरो यति कमजोर छैन्, एउटा लक्ष लिएर हिडिसकेको छु, गन्तव्यमा नपुगी विचबाटोमै अलपत्र कसरी हुन सक्छु ? तपाई ढुक्क हुनुहोस्, तपाईको छोरो हरेक चार्डपर्व मनाउन तपाईसँगै आउनेछ । कामको व्यवस्तताले हरेक पर्वमासंगै हुन नपाएपनि मेरो आमासँग गरेको बचन तोडेको छैन् । गाउँमा छिमेकीहरुले कहिलेकाँही मेरो बारेमा कुरा गर्छन अरे ? तिम्रो छोराले धेरै राम्रो काम गरिरहेको छ । खान दानकै इज्जत राखेको छ भनेको सुन्दा मेरो आमा मलाई फोन गरेर सुखको हासो हास्दै गर्वले सुनाउनुहुन्छ र भन्नुहुन्छ ‘बाबु यत्तिकै राम्रो गर्दै जानु, दुस्मन जन्माउने काम नगर्नु, आफ्नो ज्यानको ख्याल राखेस है ।’
मलाई मेरो आमाको आर्शिवाद र मलाई पत्रकारिताको पहिलो अक्षर लेख्न सिकाउने अग्रज पत्रकार विष्णुप्रसाद शर्मा जो धमाका राष्ट्रिय दैनिकको प्रकाशक÷ सम्पादक हुनुहुन्छ, उहाँको प्रेरणाले पत्रकारितामा थप जोस् जाँगर हौसला र सफलताहरु मिलिरहेको छ धमाका राष्ट्रिय दैनिकबाट सुरु भएको मेरो पत्रकारिताको यात्रा २०७४ सालमा पुगेर परिवर्तन राष्ट्रिय दैनिकसँग जोडियो । परिवर्तन दैनिकमा कार्यकारी सम्पादकको रुपमा एक वर्ष काम गरे । त्यो पत्रिका एक वर्षमै बन्द हुन पुग्यो । यही बीचमा पहिलो पटक राष्ट्रिय पत्रिकामा काम गर्ने अबसर पाए । नेपाल समाचारत्रमा दैलेख संवाददाताको रुपमा हाल सम्म पनि काम गरिरहेको छु । त्यसपछि ज्वाला संदेश साप्ताहिक र अनलाइनमा जोडिए । यति मात्र नभएर पञ्चकोशी खबर दैनिकको सम्पादकको रुपमा काम गर्ने अबसर पाईरहेको छु ।
काम गर्दै जाँदा नेपालको एकमात्र सरकारी समाचार संस्थामा काम गर्ने अबसर पाएँ । राष्ट्रिय समाचार समितिमा अहिले पनि दैलेख संवाददाताको रुपमा काम गरिरहेको छु । मेरो पत्रकारिताको यात्रामा सुझाव सल्लाह र प्रेरणा दिन आदरणिय अग्रज पत्रकारहरु प्रति आभारी छु । मेरो पत्रकारिताको पहिलो अक्षर धमाका आजका दिन देखि १३ वर्षमा प्रवेश गर्दैछ । दैलेखको पत्रकारितामा पहिलो पत्रिकासँगै नियमित प्रकाशन गर्न सफल धमाका दैनिकले आफ्नो स्थापनाको १२ वर्ष पूरा भईरहँदा थुप्रै चुनौती पार गरिसकेको छ । २०६३ सालमा जिल्ला प्रशासन कार्यालय दैलेखमा दर्ता पश्चात निरन्तर प्रकाशनमा आएको धमाकाले व्यवसायिक धर्म र मर्मको बाटो नविराएर समाज परिवर्तनको सम्बाहक बनिरहेको छ । पत्रकारिता समाजको दर्पण र विकासको संबाहक हो । जबसम्म मिडिया राजनीतिक र आर्थिक स्वार्थलाई कम प्राथमिकतामा राखेर आवाज विहीनहरूको आवाज बनेर अगाडि बढ्दैनन्, तबसम्म मिडियाबाट सुशासनको पहल हुने अपेक्षा राख्न सकिँदैन ।
गुणात्मक भन्दा संख्यात्मक रूपमा बढिरहेको दैलेखको पत्रकारिताबाट अब केही हुनेवाला पनि छैन् । प्रकाशनको १३ वर्ष पुगेको धमाकाले अब दैलेखमा जिम्मेवार र गुणात्मक पत्रकारिताको विकासका लागि अभिभावकिय भूमिका निर्वाह गर्नुपर्छ
हिक्मत बहादुर नेपाली
रासस दैलेखका सवाददाता हुन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार