जेष्ठ १५, दैलेख
नारायण नगरपालिका वडा नं. ४ भैसेखोरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । भैसेखोर बजारमा रहेको विद्युतको मेन लाईनको तार सर्ट भै पानिमा करेन्ट गएको र पानिको पाईप फुटेर ओसिलो भएको सडकमा करेन्ट प्रभाव भैरहेको स्थानमा बालक पुग्दा करेन्ट लागेको आफन्तले बताएका छन् । सडकमा रहेको चक्लेट टिप्न गएका नारायण नगरपालिका १० भवानीका ७ बर्षीय समिर रावतलाई बुधवार बिहान करिव दश बजे करेन्टले झड्का दिएको बालकका आफन्त नरबहादुर रानाले बताए । करेन्टको झण्डपछि सडकमा बेहोस भएका बालकको उपचार गर्न जिल्ला अस्पताल दैलेख तर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
बालकको मृत्यु भएपछि आफन्तहरुले नेपाल विद्युत प्राधिकरणमा कर्मचारीहरुको लापरवाहीले बालकको ज्यान गएको भन्दै धर्ना दिएका छन् ।
नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय दैलेखले करेन्ट लाग्नुको कारण खुल्न नसकेको जानकारी दिएको छ । करेन्ट लागेको जिम्मा लिन विद्युत कार्यालयले नमानेपछि स्थानीय आक्रोसित भएका छन् । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय दैलेखका प्रमुख धिरेन्द्र बजगाईले करेन्ट लागेको हो वा होइन भन्ने बारेमा आफुले स्थलगत अध्ययन गर्न टोलि पठाएको बताएका छन् ।









