
असार ९, दैलेख
सयौं वर्षदेखि जमिनमुनिबाट पेट्रोलियम पदार्थको रुपमा ग्याँस निस्किरहेको दैलेखको पंचकोशी क्षेत्रमा पेट्रोलियम अन्वेषण कार्यको औपचारिक सुरुवात असार १५ गतेबाट हुने भएको छ । नेपाल सरकार र चीन सरकारवीच लामो छलफल र बहस पछि चीनको टोलि दैलेखको ग्याँस अन्वेषणका लागि यही असार १५ गते दैलेख आउने भएको प्रतिनिधि सभाका सभासद रविन्द्रराज शर्माले जानकारी दिएका छन् ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दी सँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम संकट परेपछि २०७२ साल मंसिर २१ गते तत्कालिन सरकारका उद्योग मन्त्री सोमप्रसाद पाण्डे सहितको टोलिले दैलेखको शिरिस्थानमै आएर पेटूोलियम पदार्थ उत्खनन्को घोषणा गरेको थियो ।
२०७२ साल चैत्रमा चाईनाको बिशेषज्ञ टोलि अनुसन्धानका लागि दैलेख आयो । एक सातासम्म अनुसन्धान गरेर फर्केपछि कार्यप्रगती केही नभएको हो कि भनेर आशंका पैदा भएका बेलामा सरकारले आधिकारीक रुपमा सम्झौता प्रक्रिया पूरा गरेर बैशाखबाट अन्वेषणको कुरा गर्ने भनिएपनि चीन सरकारका विशेषज्ञहरुको टोली आउन केही ढिलो भएको थियो ।
पेट्रोलियम अन्वेषणका लागि निकै कसरत गरिरहेका प्रतिनिधि सभा सदस्य रविन्द्र शर्माले अव दैलेख समृद्धिको ढोका खुल्ने जानकारी दिएका छन् । सरकारले यही वर्षबाट दैलेख हुँदै नाम्जे नाँग्ला सम्मको सडक प्राथमिकतामा राखेको छ, मध्यपहाडी सडकको दैलेख सदरमुकामको निकाश तत्काल निस्कने तयारी छ, अन्य भू–भागहरु कालोपत्रेको तयारी छ , दैलेखका बिभिन्न उर्वर भूमिलाई सरकारले तरकारी फलफूल उत्पादनको जोन बनाउने निर्णय गरेको छ । यो सँगै पेट्रोलियम अन्वेषणबाट खानी उत्खनन्को कुरा बाहिर आउन सक्यो भने र हरेक स्थानीय तहले स्थानीय सरकारबाट प्रवाह गर्ने विकास निर्माणलाई थप प्रभावकारी बनाउँदै लैजाने हो भने दैलेखको समृद्धि धेरै टाढा नभएको शर्माले बताए ।
चीनको तर्फबाट चाइना जिओलोजीकल सर्वेका भाईस प्रेसिडेन्ट वाङकुल र नेपालको तर्फबाट खानीतथा भूगर्व विभागका महानिर्देशक सोमनाथ सापकोटा वीच वेईजीङ्गमा सम्झौता भएको र सोही अनुसार कार्य अगाडी बढ्ने तयारी भएको खानी तथा भूगर्व बिभागका परियोजना प्रमुख सुदिप रजौरेले जानकारी दिएका छन् । दैलेखको शिरिस्थानबाटै औपचारिक कार्य प्रारम्भको तयारी भएको छ, २ अर्व २० करोडको सम्झौता भएको हो । दैलेखमा देखिएको ग्याँसले कुनै स्थानमा पेट्रोलियम पदार्थ छ भनेर प्रमाणित भैसक्यो, अव कतिपरिमाणमा छ, कहाँ छ, उत्खनन् गर्दा हुने परिमाण र लागतको मेल खान्छ कि खाँदैन् यस्ता बिषयहरुको ठोस अनुसन्धान हुने छ । रजौरेले भने दैलेखमा समेत ड्रिल गर्ने तयारी रहेको छ ।
पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आफुले २०७२ सालमा सुरु गरेको अभियानले पूर्णता पाउने देखिएको भन्दै आफुपनि उद्घाटनमा दैलेख आउने प्रतिक्रिया दिएका छन् । असार १५ गते हुने औपचारिक अन्भेषणका लागि मन्त्रालयका सचिव, पूर्व मन्त्री, जिल्लाका सवै माननीयहरु सँगै १९ सदस्यीय चीनको टोली दैलेख आउने भएको छ ।
दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बि.क.ले दैलेखका बासिन्दाहरुको लागि, उद्योगी व्यपारिहरुको लागि खुसीको कुरा भएको बताएका छन् । सरकारले गरेको यो कार्यमा प्रगती देखिएमा सिंगो मुलुकनै आर्थिक समृद्धितर्फ अगाडी बढ्ने बिकले बताए ।
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले राज्यले गर्न थालेको कायमको प्रशंसा गर्दै यसको ठोस उपलब्धी हात पार्न सके नेपाल समृद्धिका लागि ठूलो सहयोग पुग्ने बताए । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले राम्रो काममा सबै जनताले साथ दिने बताउँदै तीन वर्षमा ठोस उपलब्धी हाँसिल हुनेगरि काम गर्न दैलेखका सवै स्थानीय सरकारले सहयोग गर्नुपर्ने सुझाव दिएका छन् ।
दैलेखका शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वर लगायत पंचकोशी क्षेत्रमा सयौ वर्षदेखि ज्वालाको रुपमा पेट्रोलियम पदार्थ वगिरहेको छ । धार्मिक दृष्टिकोणले पंचकोशी क्षेत्रको रुपमा समेत परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनहरुमा पर्यटकहरुको उलेख्य उपस्थिती हुँदै आएको छ । मुगुको राराताल घुमेर आउने अधिकाँस पर्यटकहरु दैलेखको पंचकोशी क्षेत्र पुगेर फर्कने गरेका छन् । यहाँको पंचकोशी क्षेत्रको महिमा कायमै राखेर अन्भेषणका कामहरु हुने प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्माले बताए ।









