
असोज १६, दैलेख
दैलेख खण्ड हुँदै जुम्ला सम्म पुग्ने कर्णाली राजमार्गका पक्कि पुलको जिम्मा लिएका कम्पनीहरुको म्याद तीन महिना मात्र बाँकी छ । बिभिन्न खोलाहरुमा पक्कि पुल निर्माण गरेर यातायातलाई सहज बनाउने अभियान थालिएको वर्षौ वर्ष बितिसक्दा पनि पुल बन्न सकेका छैनन् । सरकार र सम्वन्धित निकायले बारम्वार ताकेता गर्दापनि निर्माण कम्पनीहरुको लापरवाहीले पुल निर्माण हुन नसकेको स्पष्ट देखिन्छ । पुलन निर्माण नभएकै कारण यो वर्षको वर्षायाम र दशैंमा समेत पक्कि पुलमा यात्रा गर्ने कर्णालीका बासिन्दाहरुको सपना अधुरै रह्यो ।
कर्णाली राजमार्गको पक्कि पुल निर्माणको जिम्मा लिएका निर्माण कम्पनीहरुलाई अहिले काम सक्ने चटारो देखिएको छ । तीन महिनाभित्र पुल सम्पन्न नगरे ठेक्का तोडिने छ, निर्माण कम्पनीहरु कालोसूचिमा पर्नेछन् , बिश्व बैकले दिएको ऋणको समय सकिने छ र करोडौं रकम फिर्ता हुने छ । कामको जिम्मेवारी सँगै करोडौं पेश्कि बुझेर पनि समयमै काम नसक्ने निर्माण कम्पनीको लापरवाहीले कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरुले सँधै जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ ।
कर्णाली राजमार्गमा सडक डिभिजन कार्यालय सुर्खेत मार्फत एक र विश्व बैकको ऋण सहयोगमा १४ वटा पुलको निर्माण थालिएको दशकौ भैसक्दा पनि पुल सम्पन्न हुन सकेका छैनन् । दैलेख खण्डका अधिकाँस पुलको हालत पनि त्यस्तै छ । मंसिर सम्म अन्तिम भ्याद बाँकी रहेका पुल निर्माणका लागि अहिले निर्माण कम्पनीहरुलाई हैरानी देखिएको छ ।
म्याद सकिने तीन महिना मात्र बाँकी रहँदा निर्माणको जिम्मा लिएका कम्पनीहरुलाई र सडक डिभिजन सुर्खेतलाई भने हतारो देखिएको छ । पुलको अन्तिम निरिक्षणका लागि बिश्व बैंकको टोलि समेत निर्माणस्थलमा पुगेको छ । काम नगर्ने निर्माण कम्पनीहरुलाई सरकारले कारवाही प्रक्रियाको थालनी गर्ने सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरु अधिकारीले जानकारी दिएका छन् ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेख खण्डको राकम कर्णाली नजिक पर्ने जाक्सि खोलाको पुल अहिलेपनि लथालिङ्ग अवस्थामा रहेको छ । ७ वर्ष अघिदेखि शरिया मात्रै ठडाएको यो पुलमा गत वर्ष बीमको भागमा ढलान गरिएको छ । काम नगरेका कारण गत वर्षको २० लाख पेश्की रकम सडक डिभिजन कार्यालयले राजश्वमा जम्मा गरिदिएको अधिकारीले बताए ।
१५ वटा पुल मध्ये १४ वटा पुल अवको तीन महिना भित्र निर्माण सक्ने गरि काम सुरु गरिएको र सवैलाई ताकेता गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
दैलेख खण्डको पुल सडकभन्दा १ मिटर तल
दैलेख सदरमुकाम आउजाऊ गर्ने डुङ्गेश्वर गाउँपालिकामा पर्ने पक्कि पुलको बीचको भाग ढलान भैसकेको छ । असारमा आएको भलले पुल छेउको भागमा क्षति गरेको छ । पुल सडक भन्दा १ मिटर होचो हुने देखिएपछि स्थानीयहरुले पुल निर्माणमा लापरवाही भएको भन्दै बिरोध जनाएका छन् ।
काम नगर्ने ठेकेदारका
कारण विकासमा समस्या
कामको जिम्मेवारी लिएका निर्माण कम्पनीहरुको लापरवाही नरोकिए र कामको जिम्मा लिने व्यक्ति ईमान्दार नभए सबैखाले विकासमा ठूलो चुनौती कायमै हुने गतिलो उदाहरणको रुपमा कर्णालीका यि पुलहरुलाई लिनुपर्ने देखिएको छ । सरकारले ठोस नीति लागू गेरर काम लिएको समयभन्दा पछि काम सम्पन्न नगर्ने सवै ठेकेदार कम्पनीहरुलाई जरीवाना सहित ठेक्का तोड्ने नीति लिनुपर्ने नागरिक निगरानी केन्द्र दैलेखका अध्यक्ष दीर्घराज अधिकारीको भनाई छ ।
कर्णाली राजमार्गका यि पुलहरु तीन महिनाभित्र सम्पन्न नभए ठेकेदार त कारवाहीमा पर्ने नै छन् । विश्व बैकको रकम फिर्ता भए बाँकी काम सम्पन्न गर्नका लागि पुनः नेपाल सरकारको करोडौं रकम थप खर्च गर्नुपर्ने अवस्था देखिन्छ ।
कामको जिम्मेवरी लिने कमिशनमा ठेक्का बिक्रि गर्ने र काम नगर्ने रोग बिगत दशौं वर्षदेखि चलेको छ । विकासको बाधकको रुपमा यस्ता प्रवृतीहरु पुर्ण रुपमा बन्द नभएसम्म विकासले फड्को मार्न सक्ने देखिदैन् । कर्णाली राजमार्गका पुलहरु मात्र हैन कर्णालीका सबैखाले विकासहरु तोकिएकै समयमा हुनुपर्ने देखिन्छ ।









