अब कर्णालीमै पत्रकारिताको स्नात्तकोत्तर पढाई

कात्र्तिक २६, सुर्खेत
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आमसञ्चार तथा पत्रकारिता विषयको स्नात्तकोत्तर तह पढाइ हुने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अन्तर्गत मानविकी तथा सामाजिक संकाय सुर्खेतले आउँदो माघदेखि पत्रकारिता र आमसञ्चार विषयमा स्नातकोत्तर तहमा कक्षा सञ्चालन गर्न लागेको हो । सुर्खेतमै ‘डिग्री’ पढ्न पाइने भएपछि अब पत्रकारिता विषय पढ्न काठमाण्डौ धाउनुपर्ने बाध्यता हटेको छ ।
आउँदो माघदेखि सेमेस्टर पद्धतिमा स्नात्तकोत्तर तहको पढाइ सञ्चालन गर्ने तयारी पूरा भएको विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चार शिक्षण समितिका अध्यक्ष तथा उप–प्राध्यापक युवराज शर्माले जानकारी दिएका छन् ।
‘अहिलेसम्म पत्रकारिता विषय पढ्न देशभरकै विद्यार्थी काठमाण्डौ आउनुपर्ने बाध्यता बाध्यता हटेको छ । कर्णालीमै पत्रकारिता पढाइ हुने भएपछि कर्णालीका बिद्यार्थीहरुमा उत्साह थपिएको छ ।
खोज पत्रकार जन्माउने केन्द्र बनाउन विज्ञको सुझाव
स्नातकोत्तर तह सञ्चालन गर्ने भएपछि विश्वविद्यालयले आमसञ्चार तथा पत्रकारिता विषयका विज्ञहरुसँग सुझाव पनि लिएको छ । काठमाण्डौमा आयोजित अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले खोज पत्रकार जन्माउने पाठ्यक्रम निर्माण र त्यसको प्रभावकारी पठनपाठन गराउन सुझाव दिएका छन् ।
विश्वविद्यालयले निर्माण गरेको स्नातकोत्तर तहको पहिलो र दोस्रो सेमेस्टरको पाठ्यक्रमबारे अन्तरक्रियामा छलफल तथा परामर्श सम्पन्न गरिसकेको छ ।
‘स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि पाठ्यक्रम निर्माण समिति’ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पत्रकारिता विषयमा पढ्नुपर्ने पाठ्यसामग्रीलाई परिष्कृत गरिएको बताएका छन् ।
मध्यपश्चिमाञ्चल विश्व विद्यालयले निर्माण गरेको नयाँ पाठ्यक्रमले विद्यार्थीलाई व्यवहारिक र खोज पत्रकारिता गर्न सक्ने क्षमता विकास गराउन सक्ने आशा गरिएको छ ।
फस्टाउँदो ग्रामीण पत्रकारिता
पत्रकारिता अहिले पनि शहरमुखी छ । दूरदराजका अभाव र समस्याले मूलधारका सञ्चारमाध्यममा ठाउँ नपाएसम्म ती समाचार बन्दैनन् । बने पनि प्रभावकारी हुँदैनन् । तर सामाजिक सञ्जालको बढ्दो प्रयोगले दूरदराजका समाचार पनि प्रभावकारी बन्न थालेका छन् । अभाव, गरिबी, थिचोमिचो, अन्याय, अत्याचार तथा भ्रष्टाचारविरुद्ध चौतर्फी विरोध बढ्न थालेको छ ।
गरिबी र अभावले वर्षौँदेखि पिछडिएको कर्णालीमा पत्रकारिताको उच्च शिक्षाले ग्रामीण पत्रकारितालाई थप टेवा दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार