
पुष २९, दैलेख
आफ्नै दुई छोराहरूलाई विष खुवाई हत्या गरेको कसुरमा महावु गाउँपालिका वडा १ खरिगैराकी २४ बर्सिया कल्पना नेपालीलाई जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको छ । २०७५ साल कात्तिक १० गते खाजा खुवाउने क्रममा खाजामा विष घोलेर खुवाएपछि ७ वर्षीय जेठो छोरा आयुष नेपाली र कान्छो छोरा तीन वर्षीय अमित नेपालीको मृत्यु भएको सम्बन्धमा जिल्ला अदालत दैलेखका न्यायधिस दण्डपाणि लामिछानेको एकल इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालत दैलेखका सूचना अधिकारी विनोद आर्चायले जानकारी दिए । विष खुवाएको थहाँ पाएपछि स्थानीयले उपचारका लागि जिल्ला अस्पताल दैलेखमा ल्याउँदै गर्दा जेठो छोरा सात बर्सिया आयुष नेपालीको बाटोमै मृत्यु भएको थियो भने कान्छो तीन वर्षीय छोरा अमित नेपालीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।
जेठो छोरो आयुष नेपालीको कात्तिक १० गते जिल्ला अस्पताल दैलेख र कान्छो छोरा अमित नेपालीको शव परीक्षण कोहलपुर मेडिकल कलेजमा गरिएको थियो । शव परीक्षणमा प्रतिवेदनमा दुवै छोराहरूलाई विष खुवाएको कारण ज्यान गएको आधारमा जिल्ला प्रहरी कार्यालयमा २०७५ कात्तिक १६ गते जाहेरी दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखले आरोपित कल्पनालाई प्रहरीले कात्तिक २० गते हिरासतमा लिएर कर्तब्यज्यान लिएको भनी मुद्दा चलाएको थियो । प्रहरीले अनुसन्धान सकेर मङ्सिर १० गते जिल्ला अदालत दैलेखमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता गराएकै दिन जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि जिल्ला कारागार दैलेखमा पठाएको थियो । मुलुकी फौजदारी कसुर सजाय एने २०७४ को दफा एक सय ७७ बमोजिम ज्यान मारेको ठहरेको र सोही ऐनको दफा ४१ बमोजिम खाद्य बस्तुमा विष घुलाई मारेको खुलेको कारण जन्मकैदको फैसला सुनाएको फैसलामा उल्लेख गरिएको छ ।









