
पुष २९, दैलेख
दैलेख भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले प्रचारमा मेची महाकाली यात्रामा निस्केको पाँचथरको एक टोली दैलेखमा पुगेको छ । नेपाल सरकारले भ्रमण वर्ष उद्घाटन गरेकै दिन नेपाल भारतको सिमानामापर्ने पूर्वको चिवाभञ्याङ देखी पश्चिम नेपालको झुला घाट बैतडी सम्म मध्य पहाडी लोक मार्गले छोएका २३ जिल्लामा भ्रमण वर्षको निम्तो बाँड्न पाँचथर जिल्लाका युवाको टोली दैलेखमा पुगेको छ ।
पाँचथर जिल्लाको याङवरक गाउँपालिकाको चिवाभञ्याङ देखी बैतडीको झुला घाट जोड्ने मध्य पहाडी लोक मार्गले छोएका आसपासका २३ जिल्लका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन एवं प्रचार गर्ने उद्देश्यले यात्रामा निस्केको विभिन्न राजनीति दलमा आबद्ध भएका युवा र पत्रकारको टोली दैलेखमा पुगेको यात्रामा सहभागी युवा हर्क नेम्वाङ मिक्सोले बताए । उनले भ्रमणको वर्षको प्रचार प्रसारको निम्तो बाँड्ने र स्थानयि स्तरमा भ्रमण वर्षको उत्साह जगाउने उद्देश्यले यात्रामा निस्केको बताए ।
नेपाल यात्रामा निस्केका गिरिराज बास्कोटाले मध्य पहाडी लोक मार्गले छोएका २३ जिल्लाहरूको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिक अवस्थामा जानकारी लिने, मध्य पहाडी लोक मार्गको हाल सम्मको निर्माणको अवस्था, लोक मार्गले स्थानीयमा ल्याएको सामाजिक परिवर्तन अवस्थाको अध्ययन , मध्य पहाडी लोक मार्गमा पर्ने विभिन्न जिल्लाका गुमनाममा रहेका ऐतिहासिक पर्यटकीय स्थलहरूको पहिचान गरी पुस्तक प्रकाशन गरी प्रचार प्रसार गर्ने लक्ष्य रहेको बताए । उनले पाँचथर जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार गर्ने र अन्य जिल्लाका पर्यटकीय क्षेत्रहरूको सँगालो प्रकाशन गर्ने, भ्रमण वर्ष सफल पार्न ११ जनाको टोली मोटर साइकलमा हिँडेको बताए ।
उनले दैलेख जिल्लाको नाम सुने पनि दैलेखमा रहेका ऐतिहासिक सम्पदाहरू बारेमा जानकारी नपाएको बताउँदै दैलेखमा विश्व सम्पदा सूचिमा सूचीकृत भएको पाण्डवले निर्माण गरेको पञ्चदेव, तत्कालीन बाइसे चौबिसे राज्यको पालामा बेलास्पुर राजाले पूजा गर्ने बेलासपुर मन्दिर, सयौँ वर्ष देखी निरन्तर बगिरहेको दैलेखको पञ्चकोशी तीर्थस्थल शिर स्थान, नाभिस्थान, कोटिला, पादुकार धुलेश्वर र नेपाली भाषाको शिलालेख, दुल्लू दरबार, कोतगडि लगायतका पर्यटकीय स्थानमा यात्रा गरेको र दैलेख साच्चिकै ऐतिहासिक पुरातात्विक र धार्मिक हिसाबले धनी जिल्ला रहेको बताए । भ्रमण वर्षको निम्तो बाँड्न दैलेख सदरमुकाममा पुगेको टोलीलाई नारायण नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले दैलेख धार्मिक पुरातात्विक र ऐतिहासिक जिल्लामा स्वागत गर्न पाउँदा आफू खुसी रहेको बताउँदै दैलेख सम्पदाहरूका बारेमा प्रचार गरिदिन आग्रह गरे ।
नेपालका २३ जिल्लाका २ सय १५ भन्दा बढी बस्तीहरू छोएर बैतडीको झुला घाट सम्मको १७ सय ७६ किलोमिटरको यात्रा गरेर टोली पाँचथर फर्कने छ । पूर्वको पाँचथर बाट बैतडीको झुला घाट सम्म जानको लागि एक जना बराबर ३ लाख खर्च हुने बताए । नेपाल यात्रामा निस्केको टोलीमा हर्क नेम्वाङ मिस्को, गिरिराज बास्कोटा, सुमन लामा, दीपक दुलाल, धन कुमार लावती, दीपक बोहोरा, प्रबिन माखिम, दीपेन्द्र तामाङ, जल कुमार तामाङ, तुलाराम रिमाल र छवि चपागाई गरी ११ जनाको टोली दैलेखमा पुगेको छ ।









