अहिले समाज बिषादिले आक्रान्त बनेको छ । बिषादीको प्रयोग अनियन्त्रित रुपमा बढ्दै जान थालेपछि बिषादीको उपभोगकै कारण क्यान्सर, मुटुरोग लगायतका बिभिन्न समस्याहरु मानव जीवनमा पर्दै आएका छन् । बिषादीको प्रयोग अँझै धेरै दैनिक उपभोग्य सामानहरुमा बढी देखिएको छ । बिशेष गरेर तरकारी वालीहरुमा बिषादीको धेरै प्रयोग बढ्दै गएको छ । जसका कारण मानव जीवनमा यसको निकै नकारात्मक प्रभावहरु बढेका छन् ।
किसानहरुले उत्पादन गर्ने तरकारी, फलफुल लगायतका सामानहरुमा बिषादीको प्रयोग धेरै भएको छ । छिटो कमाउने होडवाजीका कारण बिषादी प्रयोग बढ्दै गएपछि यसको रोकथामका लागि सरकारले बिभिन्न अभियानहरु संचालन गरिरहेको छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीलाई अर्गानीक प्रदेश घोषणा गरेको एक वर्ष पूरा भैसकेको छ । तत्कालिन समयमा गरिएको अर्गानिक प्रदेशको घोषणा अहिले घोषणामै सिमित हुने हो कि भन्ने चिन्ता पनि बढेको छ । अर्गानिक प्रदेश बनाउनु अघि यहाँका दशवटा जिल्लाहरुको संभावित अध्ययन गरेर काम अगाडी बढाउनुपर्ने आवश्यकता महसुस गरिएको छ ।
सरकारले लिएको अर्गानिक अभियानलाई हरेक किसानहरुले व्यवहारमा लागु गर्नुपर्ने अवस्था आएको छ । प्रदेश अर्गानिक बनाउने अभियान निकै सकारात्मक छ । यो अभियानलाई अँझै धेरै प्रभावकारी बनाउनका लागि हरेक बस्ति बस्तिमा यसको अभियान थाल्नुपर्ने देखिएको छ । बिषादी धेरै प्रयोग नगर्ने भनेर अभियान मात्र थालेर नहुने अवस्था देखिएको छ । बिभिन्न रासायनिक मलहरु प्रयोग धेरै हुनुका साथै बिषादीको प्रयोग बढेको बिषयलाई निरुत्साहित गर्दैगर्दा स्थानीय स्तरमै जैवीक मलहरु उत्पादनका लागि पशुपालनलाई बिशेष जोड दिनुपर्ने अवस्था देखिएको छ । यो सँगै जैवीक बिषादीहरुको उत्पादन र यसको प्रयोगलाई बृद्धि गर्दै लैजाने हो भने अवस्य पनि समाजमा बिषादीको समस्या घट्दै जाने देखिन्छ ।
अव हरेक परिवारले अर्गानिक अभियानको थालनी गरेर जैवीक मल, जैवीक बिषादीको उत्पादन र प्रयोग गर्ने कामलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने अहिलेको आवश्यकता हो । दैनिक उपभोग्य सामानहरु मध्ये तरकारी र फलफुल जन्य बस्तुहरुमा प्रयोग गरिने बिषादीहरुको पूर्ण रुपमा बन्द गर्दै यसको आयात रोक्ने कामका लागि पनि सरकार र सम्वन्धित निकायहरु सक्रिय हुनुपर्ने देखिएको छ ।








