
फागुन २२, दैलेख
स्थानीय सरकारमा सडक मोह धेरै बढेको छ । सडक बिकासको पहिलो आवश्यकता पनि हो तर सडक निर्माण पूर्व गर्नुपर्ने सर्वे, डिजाईन र स्टिमेट बिनै डोजरमार्फत धमाधम सडक खन्ने क्रम निरन्तर बढेको छ । सडक निर्माणसँगै अनियन्त्रित रुपमा रुख बिरुवा मासिने क्रम बढेको छ, भू क्षयको सम्भावना बढेको छ । खनिएका सडकहरुमा नालि निर्माण नभएका कारण वर्षातमा सवै सडक बग्ने गर्दछ । स्थानीय सरकारहरु पनि सडक निर्माणका बारेमा सजग हुन नसकेको आरोप जिल्ला समन्वय प्रमुख प्रेम थापाले लगाएका छन् । पालिकाका वडा कार्यालय सम्म पुग्ने सडकहरु व्यवस्थित गरौं, सडक निर्माण सँगै मासिएका रुख बिरुवाहरु अनिवार्य रोपौं, भनेर रोकथामका लागि जिल्ला परिषदमै स्थानीय सरकारहरुले सामुहिक प्रतिबद्धता व्यक्त गरेको भएपनि यो वर्ष पनि कार्यान्वयन नभएको थापाले गुनासो गरे । पहाडी भू भागहरुमा सडक निर्माण गर्ने नाममा अनियन्त्रित रुपमा डोजर प्रयोग गरेर पहाड भत्काउने अभियान बढेको छ , वन बिनास, भू क्षय जस्ता समस्याहरु बढ्दै गएका छन् । सडकमा गरिएको लगानी खेर हुँदै जान थालेको छ । यो अभियान रोक्नुपर्ने अहिलेको आवश्यकता हो । गत वर्ष मात्रै दैलेखका ११ पालिकामा ९८ वटा डोजर सुचिकृत भए भन्ने खवरले दैलेखमा डोजर आतंककै रुपमा विकास भएको कुरा सबैलाई थाहा हुँदा हुँदै पनि यसको व्यवस्थापन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएका स्थानीय सरकारले हेलचक्राई गरेको थापाले बताए ।
सडक निर्माण सँगै स्थानीयको रोजगारी सृजना गर्ने र डोजर प्रयोगलाई निरुत्साहित गर्दै कर्णाली प्रदेश सरकारले कृषि सडक निर्माणमा अनिवार्य स्थानीय बासिन्दाहरुको सहभागिता गराएको छ । कृषकहरुकै अनिवार्य सहभागिता गरिएपछि सडक निर्माणमा स्थानीयले रोजगारी पाउन थालेका छन् । दिगो र भू क्षय रोकिने भएको छ । सडक कम खन्ने वा खनिएका सडकहरुको स्तरोन्नती गर्ने र अनिवार्य खन्नुपर्ने सडकहरुलाई प्रभावकारी बनाउने अभियान प्रदेश सरकारले लिएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पुण्य रेग्मीले बताएका छन् ।
प्रदेश सरकारले कृषि विकास कार्यालय दैलेख मार्फत यो बर्ष संचालन भएका १६ वटा कृषि सडकहरु मा कडा चट्टान बाहेक सवैमा मानवीय स्रोत अनिवार्य प्रयोग गर्ने नीति लिएको छ । सकेसम्म योजना सुरु हुँदै गर्दा, योजना निर्माणको मध्य भाग र अन्तिममा अनिवार्य कार्यालयले अनुगमन गर्ने र अन्तिममा जिल्ला अनुगमन समिति, सम्वन्धित निकायका निर्वाचित जनप्रतिनिधिहरु सबैको रोहवरमा अनुगमन गरेर सुझाव सहितको भुक्तानी प्रक्रिया थालनी गर्ने कार्यालय प्रमुख तीलक पाण्डेले जानकारी दिएका छन् ।
विकास निर्माणको सवैभन्दा महत्वपूर्ण मानिएको सडक निर्माण कार्यलाई व्यवस्थित गर्नुपर्ने, सडक खन्दा मासिएका बिरुवाको रोपण र जैविक बिविधता जोगाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सडक सँगै अनिवार्य रुपमा नालिको व्यवस्थापन हुन सके विकासमा दिगोपना हुने देखिन्छ ।









