अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको आग्रह


चैत्र ५, काठमाडौं
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी जम्मा हुन नपाईने
नेपाल सरकारले कोरोना भाइरस फैलन सक्ने जोखिमबाट बच्न सर्वसाधारण जनतालाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
मानिसहरु भीडभाँड हुने स्थानहरुमा नजान आग्रह गर्दै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन अपिल समेत गरेको छ । सार्वजानिक यातायातमा सचेतना अपनाउन सरकारले निर्णय गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय छ । यसको अनुगमन गृह मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना मन्त्रालयले गर्नेछ ।
कोरोना प्रभावित ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध
बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको छ ।
यसैगरी खाडी क्षेत्र, युरोपका सबै मुलुक, इरान, टर्की, दक्षिण कोरिया, जापान ट्रान्जिट भई आउने सबैलाई पनि वैशाख ३ गतेसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।
आवागमनमा लगाएको प्रतिबन्धका कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकको भिसा अवधि नियमित गर्न गृह र परराष्ट्र मन्त्रालयले समन्वय गर्ने पनि समितिको बैठकले निर्णय गरेको छ ।
स्कुल–कलेज चैत मसान्तसम्म बन्द
बैठकले स्कुल, कलेज लगायतका शैक्षिक संस्था चैत मसन्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । चैत्र ६ गते हुने भनिएको एसइई परिक्षा समेत आपतकालिन रुपमा रोक्नुपर्ने अवस्था आएको शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार