दैलेखको नौमूलेबाट ९ जनाको नमुना सङ्कलन

  • होम क्वारेन्टाइनमा बसेकाहरुको खोजी तीब्र

  • कोरोना भाइरस सङ्क्रमण नेपालमा बढ्दै जान थालेपछि सर्तकर्ता बढाईएको छ । भारतबाट नेपाल आउने व्यक्तिहरुमा संक्रमण देखिन थालेपछि दैलेखमा उच्च सर्तकर्ता अपनाईएको छ । दैलेखको नौमूले गाउँपालिकाबाट ९ जनाको स्वाब परीक्षणका लागि सोमवार नमुना सङ्कलन गरिएको छ ।


    स्वाब सङ्कलनका लागि स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतबाट २ जना र स्वास्थ्य कार्यालय दैलेखबाट २ जनाको टोली नौमूले पुगेको स्वास्थ्य कार्यालय दैलेखका डा. निरन्जन पन्तले जानकारी दिएका छन् ।
    नौमूलेमा सर्तकता उच्च पारिएको र पालिकाले समेत औषधि र जनचेतना अभियानलाई तीब्र पारेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र शाहीले बताएका छन् ।
    दैलेखका ११ वटै स्थानीय तहमा भारतबाट दैलेख आएका व्यक्तिहरूको पहिचान गरिएको र सोहीका आधारमा स्वास्थ्य जाँच गर्दै लक्षणका आधारमा स्वाब परीक्षण गरिने डा. निरन्जन पन्तले बताए टोली आज आठवीस नगरपालिका पुग्ने छ ।
    क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य जाँच सँगै छलफल


    दैलेखको आठवीस नगरपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिकाका विभिन्न वडाहरुमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको स्वास्थ्य जाँच सँगै समस्याहरुका बारेमा परामर्श गरिएको छ ।
    भारतबाट दैलेख आएका व्यक्तिहरूको संख्या १४ सय ५६ पुगेपछि दैलेखमा सतर्कता बढाइएको छ ।
    दैलेखको आठवीस नगरपालिका वडा नं. २ को सरस्वती माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा बसेका ४० जनालाई तत्काल अन्य स्थानमा व्यवस्थापन गर्ने बारेमा पनि सुरक्षा समिति बैठकमा छलफल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
    दैलेखको दुर्गम मानिने आठवीस र चामुण्डा बिन्द्रासैनी नगरपालिकाका विभिन्न वडाका बिद्यालयहरुलाई आपतकालिन रूपमा क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको स्वास्थ्य जाँच सँगै समस्याहरुका बारेमा क्वारेन्टाइन स्थलमै पुगेर छलफल गरिएको हो । जिल्ला दैवी प्रकोप उद्धार समिति, डाक्टर, सुरक्षा निकाय, सम्बन्धित पालिकाका निर्वा्चित जनप्रतिनिधिहरूको संयुक्त टोलिले अनुगमन गरेको छ ।
    चामुण्डा बिन्द्रासैनी नगरपालिकाले १ सय २१ जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच लगायतका सबै सुविधा पालिकाबाटै उपलब्ध गराएको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्य बहादुर शाहीले बताएका छन् ।
    आठवीस नगरपालिकाको वडा नं. १ र २ मा भारतबाट आएका ८२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिहरू भागेर घर जान थालेपछि सुरक्षा चुनौती थपिएको छ । उचित व्यवस्थापन नभएका कारण समस्या भएको क्वारेन्टाइनमा बस्नेहरूको गुनासो छ । विकट र दुर्गम स्थानमा क्वारेन्टाइन निर्माण भएका कारण सुरक्षा, स्वास्थ्य जाँच, र बसाई व्यवस्थापन लगायतका समस्याहरू कायमै हुँदा पनि वडा र पालिकाले निकै मेहनत गरेको आठवीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् । भारतबाट काम गरेर फर्कनेहरूको सङ्ख्या एक्कासि बढेपछि कतिपय स्थानहरूमा बेन्च जोडेर सुत्ने व्यवस्था मिलाइएको छ ।
    पालिकाका मुकामहरुमा मात्र क्वारेन्टाइन बनाउन सुझाव


    दैलखका बिभिन्न ११ वटा स्थानीय पालिकाहरुले वडा वडामा क्वारेन्टाइन निर्माण गरेपछि बिभिन्न खालका चुनौतीहरु देखिन थालेका छन् । सरकारले क्वारेन्टाइन निर्देशिका जारी गरेपछि दैलेखका अधिकाँस क्वारेन्टाइनहरु निर्देशिका अनुसार नभएको पाईएको छ ।
    हरेक पालिकाहरुले पालिकाको मुकाममा एक सय देखि २ सय बेड सम्मको क्वारेन्टाइन निर्माण गर्न सके नागरिकहरुलाई सहयोग हुने भएकोले स्थानीयले सुझाव समेत दिएका छन् ।

     

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार