
जनतालाई आवश्यकता भएका स्थानहरुमा बिकास दिन सके योजनाहरु दिगो र प्रभावकारी हुन्छन् भन्ने उदाहरण दैलेखको भैरवी गाउँपालिकामा निर्माण भएका खानेपानी योजनाहरुले देखाएका छन् । अहिले स्थानीय सरकारहरुले पनि ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले अवलम्बन गरेका बिकास नीतिमा टेकेर अन्य कामहरु सुरु गर्न थालेका छन् ।
दैलेखको भैरवी गाउँपालिका १ कि नानु थापा अहिले ६५ वर्ष पुग्नुभयो, बिहे गरेर आएदेखि कुवाको पानी बोकेर दैनिकि चलाउनुपर्ने समस्या समाधान भएको छ । दुषित पानी पिउनुपर्ने बाध्यता हटेको छ भने पानीकै लागि लामो समयसम्म कुवामा कुर्नुपर्ने दिन सकिएका छन् ।
हाम्रा पाला र अहिलेको कुरा गरेरै साध्य छैन्, त्यसवेलाको जुग र अहिलेको जुग धेरै परिवर्तन भएको छ । थापाले भने ।
भैरवी गाउँपालिकाको वडा नं. २ मा पनि पानीका मुहानहरु संरक्षण भएपछि रातभर ट्याँकीमा जम्मा भएको पानिले बिहान सजिलै गाग्री भरिने र समयमै पालो आउन थालेपछि महिलाहरुको कार्यबोझ घटेको छ । धारामा कुर्नुपर्ने समयलाई महिलाहरुले अन्य उत्पादनका क्षेत्रमा खर्च गर्ने गरेका छन् । बचेको पानी करेसाबारीमा प्रयोग गरेका छन् । बालबालिकाहरु सरसफाई देखिएका छन् । लामो समयदेखि लकडाउन भएको छ, दैलेखमा कोरोना कहर पनि उतिकै छ तर यस क्षेत्रका बासिन्दाहरु भने घरमा आएका नयाँ मानिसहरुलाई पहिला हात धनु सुझाव दिने गर्दछन् ।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएको भैरवी गाउँपालिका वडा १ नं. को डाव गाउँका ५० घर परिवार समेत अहिले सोलार लिफ्टमार्फत घरमै पानि आएको छ । सुख्खा डाँडामा खानेपानी आएपछि स्थानीय सरकार गाउँमै आएको महसुस स्थानीयले गरेका छन् । सरकार घरमै आयो भनेको यही रहेछ । ४० बर्षदेखि १ घण्टा पैदल यात्रा गरेर पानी खानुपर्ने समस्या समाधान भएको छ ।

दैलेखको भैरवी गाउँपालिका र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले पालिकाका बिभिन्न वडाहरुमा अति आवस्यक भएका स्थानहरुमा सुरु गरिएको खानेपानी योजना, मुल सुधारका कामहरु लकडाउनकै अवधिमा सम्पन्न भएका छन् । आवश्यकताका आधारमा योजना दिए स्थानीयहरुको सक्रियाता बढ्ने र भनेकै समयमा आयोजना सम्पन्न हुने उदाहरण भैरवीका खानेपानी योजनाहरुमा देखिएको छ ।स्थानीय संस्था एभरेष्ट क्लबको सामाजिक परिचालनमा कामहरु संचालन गरिएका छन् ।
योजना बन्नु अघि मध्य र अन्त्यमा अनिवार्य उपभोक्ताहरुसँग समन्वय गर्ने, सुशासनर र पारदर्शीताका कामहरु गर्ने भएकोले स्थानीय सरकारहरुले प्रभावकारी कामको पाठ सिक्दै अन्य आयोजनाहरुमा पनि पारदर्शीताको अनुसरण गरेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिएका छन् । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले जस्तै गरेर पालिकाले योजनाहरु निर्माण गर्ने र दिगो बनाउने सोचमा छ । हामी सभाबाटै राम्रा गतिबिधिहरुको अंगिकार गर्ने गरि नीति बनाउने तयारीमा छौं बुढाले भने ।
भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापाले स्थानीय सरकारसँग साझेदारी गरेर खानेपानी स्वास्थ्य र तरकारी उत्पादनका क्षेत्रमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले प्रभावकारी काम गरेको बताउँदै योजनाको दिगोपनाका बारेमा पनि उपभोक्ताहरु आफु सक्रिय हुनुपर्ने सुझाव दिएका छन् ।
भैरवी गाउँपालिकाको समन्वयमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले यो बर्ष मात्रै २ करोड बढी रकम खानेपानी र मुहान संरक्षणमा खर्च गरेको छ । वडा नं. १ मा सोलार लिफ्ट मार्फत गाउँमा पानि पुगेको छ । २३ वटा मुल संरक्षण सहितको सुद्ध खानेपनी धारा निर्माण गरिएका छन् । सरसफाईका गतिविधिहरु पनि गाउँमा प्रभावकारी रुपमा अघि बढेपछि कोरोना संक्रमणसँग जुध्न पनि स्थानीयहरुलाई सजिलो भएको छ ।









