
दैलेख ः जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले जनता सामु कानुनको कार्यान्वयन गराउनु आफुहरुको प्रमुख दायित्व रहेको बताएका छन् । दैलेख सरुवा भई आएका उनले मङ्गलवार पत्रकारहरु सँगको भेटघाट कार्यक्रममा प्रहरी प्रशासनको प्रमुख दायित्व भनेको कानुनको कार्यान्वयन गराउनु रहेको बताएका हुन् ।
उनले प्रहरी जनताको साथी भएकाले आफू जनमैत्री भएर काम गर्नुका साथै निष्पक्षतालाई आत्मसाथ गर्दै अगाडि बढ्ने र बोलेर भन्दा पनि जिल्लाको सान्ती सुरक्षा लागि काम गरेर देखाउने बताए ।
श्रेष्ठले भने ‘नेपालको कानुन अनुसार गलत गर्ने कसैलाई पनि छोड्दैनौ, प्रहरीमा आएका उजुरीका आधारमा निश्पक्ष अनुसन्धान गरी पीडित पक्षलाई न्यायको अनुभूति गराउन आफू र आफ्नो टिम जहिले पनि अग्रसर हुने छौँ ।
जिल्लाका क्रियाशील पत्रकारहरूले दैलेखमा युवा देखि बालबालिका सम्म लागु औषधको कुलतमा फस्दै गएकाले विशेष निगरानी गरी यसलाई निर्मुल गर्न तर्फ प्रशासनको भूमिका महत्वपूर्ण रहने सुझाव दिएका छन् । जिल्लामा बालबिवाहको अवस्था भयावह रहेकाले यस तर्फ जिम्मेवार निकायको ध्यान जान सुझाव दिएका छन् । कोरोना कहरले साना व्यवसायिहरु मर्कामा पर्दै गएकोले साना व्यवसायिहरुको पक्षमा प्रहरी र प्रशासनले ध्यान दिनुपर्ने सुझाव पनि पत्रकारहरूले दिएका छन् ।









