कार्तिक २०, दैलेख
घरबाट बाख्रा चराउन गएकी महिलाको हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ लटालीको जंगलमा सोमबार बिहान साढे १० बजे बाख्रा चराउन भन्दै घरबाट हिँडेकी २१ वर्षीया सुनिता विकको शव अर्धनग्न अवस्थामा मंगलबार दिउँसो जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
गुराँस गाउँपालिका –१ सेफ्टी बिहे गरेकी उनको श्रीमानसँगको सम्बन्ध राम्रो नभएकाले विगत ६ महिना देखि माइतिको घरमा बस्दै आएको प्रारम्भिक अध्ययनले देखाएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीलाई खबर आएसँगै घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसंन्धान गरेको थियो, घटनाको प्रकृति हेर्ने हो भने हत्या गरिएको आशंका भएपछि ‘ घटनास्थलमा नेपालगंजबाट नेपाल प्रहरीको तालिम प्राप्त कुकुरहरु ल्याएर अनुसन्धान गरेको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।
महिलाको शरिर, टाउको अगाडि र पछाडीको भाग लगाएतका ठाउँमा चोट देखिएको छ । बिहीवार उनको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पोष्टमार्टम गरिएको छ । प्रहरीले केही व्यक्तिहरुलाई अनुसन्धानका लागि सोधपुछ सुरु गरिसकेको छ ।
हामीले अनुसन्धानलाई निकै फराकिलो तरिकाले सुरु गरिसकेका छौं, प्रारम्भिक अध्ययनले हत्या हुनसक्ने देखिएको छ । थप अनुसन्धान पनि भैरहेको र पोष्टमार्टमको रिपोट आएपछि थप सजिलो हुने डीएसपी श्रेष्ठले जानकारी दिएका छन् । महिलाका आफन्तहरुले भने बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् । माइती परिवार र आफन्तले घटनाको स्वतन्त्र र निश्पक्ष अनुसन्धान गरी घटनामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् ।









