
मंसिर ६, दैलेख
सरकारले अवैध रूपले सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले अनुसन्धान सुरु गरेको छ । दैलेखमा निर्माण सुरु गरिएको मध्य पहाडी राजमार्ग निर्माण कार्यका लागि भनेर सञ्चालन गरिएका क्रसर उद्योगहरूको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, प्रहरी प्रमुख अनुपम श्रेष्ठ सहितको टोलीले स्थलगत अनुसन्धान गरेको हो ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ६ को पादुका खोलामा सञ्चालन गरिएको क्रसर उद्योग सम्झौता सकिएको अवस्थामा रहेको भेटिएको छ , उद्योगले स्थानीय सरकारसँग कुनै पनि सम्झौता नगरेको खुलेको छ । विगत तीन वर्षदेखि सञ्चालन गरिएको क्रसर उद्योगले कुलो निर्माण नगरिदिएपछि ४५ जना किसानहरूको खेत सुख्खा क्षेत्रमा परिणत भएको भन्दै स्थानीय किसानहरूले प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारसँग गुनासो गरेका छन् ।
हामीलाई कम्पनीले उद्योग स्थापना सँगै कुलो निर्माण गरिदिन्छु भनेर भनेको तीन वर्ष भयो, तर पुरा भएँ, अहिले सबै खेत बाँझो छन् ।
स्थानीयहरूले भने, यहाँ मध्य पहाडी राजमार्गका लागि भनेर क्रसर उद्योग खोलिएको छ, तर रातारात सबैको मिलेमतोमा सुर्खेत, नेपालगन्ज र कालिकोट सम्म बालुवा र गिट्टी बिक्री गरिन्छ ।
स्थानीयको गुनासो सम्बोधन गर्दै मध्य पहाडी सडकका लागि मात्र भनेर उद्योग सञ्चालन गरिएकोले अन्यत्र बिक्री गर्न अवैध हुने र त्यसो भएमा जनताले प्रहरी र प्रशासनलाई खबर गर्न प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले सुझाव दिएका छन् ।
दैलेखमा सञ्चालनमा रहेका दुई वटा क्रसर उद्योगहरूको सबै विवरण तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय दैलेखमा बुझाउन माग गरेका छौँ, स्थलगत अध्ययन पनि गरेका छौँ । कानुन विपरीत भेटिएमा सबैलाई कारा वाही गर्छौँ प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिएका छन् ।
कर्णाली राजमार्गमा निर्माण गरिएको आठविस नगरपालिका २ सिस्ने बजारको श्रृंगेश्वर कन्स्ट्रक्सन प्रा.लि.क्रसर उद्योगले धुलो र ध्वनि प्रदूषण गरेको, लुकिछिपी गिट्टी बालुवा अन्यत्र बिक्री गर्ने गरेको, विद्यालयमा विद्यार्थीहरुको पठनपाठनमा समस्या उत्पन्न गराएको स्थानीयले गुनासो गरेका छन् ।
विद्यालय खुलेपछि समस्याका बारेमा पुनः स्थलगत अनुसन्धान गर्ने, धुलो र ध्वनि प्रदूषण नियन्त्रण गर्न कम्पनीले अपनाउनुपर्ने सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी सुनारले कम्पनीलाई निर्देशन दिएका छन् ।
क्रसर उद्योग सञ्चालकहरूले भने आफूहरूले सडकका लागि आवश्यक पर्ने परिमाणहरूको मापन गरेर मात्र काम गरेको, स्थानीयलाई रोजगारी प्रदान गरेको र बाहिर बिक्री वितरण नगरेको बताएका छन् ।
दैलेखमा मध्य पहाडी राजमार्ग निर्माणका लागि भन्दै दुई वटा क्रसर उद्योगहरू सञ्चालनमा रहेका छन् भने अन्य दुई वटा पुनः सञ्चालनको तयारीमा रहेका छन् । क्रसर उद्योग सञ्चालनका लागि अनुमति पाएका उद्योगहरूले नियम विपरीत डोजर लगाएर खोलाबाट ढुङ्गा गुटी र बालुवा उठाउने काम बढ्दै गएपछि खोलाको बहाव समेत परिवर्तन भएको स्थानीयहरूको गुनासो रहेको छ ।
गत कात्तिक २५ गतेको मन्त्रिपरिषद्ले बैठकले ७७ वटै जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो ।
अनुगमन टोलिले क्रसर उद्योगहरुले जम्मा गरेको ढुंगा गिट्टी वालुवाको मात्राको मापन गरेको छ । टोलिमा भौतिक पूर्वाधार कार्यालय दैलेखका प्रमुख बलदिप शर्मा, उद्योग कार्यालय दैलेखका प्रमुख पशुराम काफ्ले, जिल्ला वन कार्यालय दैलेखका होमकुमारी न्यौपाने, मालपोत कार्यालय दैलेखका प्रमुख बालकृष्ण राना, नापी कार्यालय दैलेखका प्रमुख एकेन्द्रबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।









