
मंसिर २०, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न संकट समाधानका लागि दुवै अध्यक्ष द्धारा प्रस्तुत गरिएको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार भएको सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि दुबै अध्यक्षले पेश गरेको प्रतिवेदन स्थायी कमिटीमा लिने निर्णय गरिएको हो ।
स्थायी कमिटी बैठकका लागि भने अन्य कुनै पनि एजेण्डाहरु तयार नभएको बुझिएको छ ।
्स्थायी कमिटीको बैठक मङ्सिर २१ गते आइतवार (आज) दिउँसो १ बजेका लागि तय गरिएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा छलफल हुने जानकारी दिएका छन् । यहि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली द्धारा प्रस्तुत गरिएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्धारा प्रस्तुत गरिएको लिखित प्रस्ताव पत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा शीर्ष तहमा विवाद कायमै छ ।
दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर कमिटी र यही २५ गते (विहिवार) हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलग अलगरुपमा लाने भन्ने बारेमा नेताहरुबीच अनौपचारिक छलफल पनि भइरहेको छ । गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्षनेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।
पछिल्ला समय मन्त्रिपरिषध हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्ष ¥यबीच लिखित आरोप–प्रत्यारोप पत्र सार्वजनिक भएपछि विवाद बढेको छ ।









