दशबर्षे लामो जनयुद्ध, त्यसअघिका बिभिन्न कालखण्डमा लादिएका शासन व्यवस्थाहरु जनताको अनुकुल विकास भन्दा व्यक्तिगत स्वार्थ केन्द्रित भए, जनताले चाहेको शासन व्यवस्था आउन सकेन । शासन व्यवस्थामा समस्या हुन थालेपछि नयाँ शासन व्ययवस्था मुलुकको लागि आवश्यक हो भन्दै मुलुकमा लामो समय संघर्ष चल्यो, संघर्षको निकास पुनः समझदारी नै भयो, १२ बुदे दिल्ली सम्झौता भयो, २०६२, ०६३ को जनआन्दोलनको उपलब्धि रक्षा सँगै, माओवादीको लामो संघर्ष बिर्सजन भयो, सबै दलहरु एक ठाउँमा अभिए, निरंकुश राजतन्त्रको अन्त्य भयो, चुनाव आएपछि दलहरु एक आपसमा चुनावी प्रतिश्पर्धामा लागे, मुलुकमा संघीयता सुरु भयो, अहिले गाउँमा सिंहदरवार आएको पनि झण्डैं तीन बर्ष पुग्न लाग्दैछ ।
मुलुक संघीयगणतन्त्रमा पुग्यो त्यसको प्रतिफल जनताले पाउन नपाउँदै पुनः नेकपाका शिर्ष नेताहरुको आपसी खिचातानीका कारण अहिले पाँच बर्ष सम्मको स्थायी सरकार समस्यामा पर्ने अवस्थामा पुग्यो, प्रतिनिधि सभा अहिले बिघटन भएको छ । यही बिषयलाई लिएर सत्तापक्ष भित्रै निकै ठूलो वाक युद्ध चलिरहेको छ ।
बिगतमा देखिएका राजनीतिक अस्थिरताका कारण मुलुक सयौं वर्ष पछि प¥यो अव त केही विकासले गति लिन्छ, फड्को मार्छ भनेर कतिपय योजनाहरु तयार भएकै बेलामा सत्ता मोहले समस्यामा परेको नेपालको राजनीतिमा अहिले अदालत र निर्वाचन आयोगको निर्णय कुर्नुपर्ने अवस्थामा मुलुक पुगेको छ । यद्यपी अँझै पनि धेरै बिषयहरु थाँती राखेर देश परिवर्तनका लागि सत्ता र प्रतिपक्षी दलहरु एक हुनुपर्ने आवश्यकता हो ।
नेकपा भित्र देखिएको व्यक्तिगत रिस आवेग र कुण्ठालाई त्यागेर नेपाल र नेपालीहरुको समृद्धिका लागि शिर्ष नेताहरु एक हुनुपर्ने अहिलेको आवश्यकता हो । चुनाव जित हार स्वभाविक कुरा हो मुलुक निर्माणको कुरा बिशिष्ट कुरा हो यही कुरालाई मध्यनजर गर्दै शिर्ष नेता र दलहरु एक हुनुपर्ने अहिलेको आवश्यकता हो ।








