
माघ १९, दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको छ । पालिकाले गाउँ सभाबाट गत वर्ष ऐन निर्माण गरेर पालिकाभित्रका ५५ वर्षका एकल पुरुषलाई मासिक ५ सयका दरले भत्ता दिने निर्णय गरेको हो । बजेट विनियोजन भैसकेको छ, गाउँपालिकाका एकल पुरुषहरूले बारम्बार यो विषय उठान गरेपछि गाउँपालिकाले सम्मान स्वरूप भत्ता प्रदान गर्ने काम सुरु गरेको र माघ महिनाबाटै कार्यान्वयनको तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष नगेन्द्र मल्लले जानकारी दिएका छन् ।
पालिकाले एकल पुरुषलाई मात्र नभै विवाह नभएर माइतीमै बसोबास गरेका महिलाहरूलाई समेत भत्ता दिने निर्णय गरेको छ, पहिला पुरुषलाई मात्र भन्ने थियो तर कतिपय अवस्थामा महिलाहरू विवाह नगरेरै माइतीमा बसेका हुन्छन् त्यस्ता महिलाहरूको आत्मसम्मानका लागि पनि यो काम प्रभावकारी हुन्छ भन्ने सोचले महिला र पुरुष दुवैलाई गाउँपालिकाले सम्मान स्वरूप भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञवालीले जानकारी दिएकी छन् । उपाध्यक्षले भनिन् गत वर्षबाट मेरै नेतृत्वमा पालिका भरीका गरिब, विपन्न समुदाय लगायत सबैको खरको छानोलाई बदलेर टिनको छानो लगाउने अभियान पनि सञ्चालन भएको छ । गत वर्ष १२ जनाले टिनको छानो पाउनुभएको छ यो वर्ष ४८ जनालाई दिने तयारी छ ।
पालिकाले गरेको निर्णय राम्रो भएको स्थानीय पदम बहादुर शाहीले बताएका छन् , एकल महिलालाई भत्ता मिलेको थियो, पुरुषलाई मिलेको थिएन, सरकारले नै यो निर्णय गर्नुपर्ने थियो हाम्रो माग पनि छ तर गाउँपालिकाले थोरै भएपनि भत्ता प्रदान गरेर राम्रो काम गरेको छ । स्थानीय सरकारलाई धन्यवाद । शाहीले भने ।
अहिले गाउँपालिकाले पालिका भरी रहेका एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने कार्य सुरु गरेको र माघ महिनाको अन्तिमबाट मासिक ५ सय भत्ता दिने तयारी गरेको हो ।









