
माघ २२, दैलेख
कोरोना संक्रमणले रोजगारी गुमाएर गाउँमा बसेका दैलेखको गुराँस गाउँपालिका युवाहरुले अहिले गाउँमै रोजगारीका बिभिन्न कामहरु प्राप्त गरेका छन् । कोही युवाहरु बाख्रा पालनमा छन भने कोही कुखुरा पालनमा त कोही आलु खेतीमा लागेका छन् । यसले स्थानीय स्तरमै रोजगारी प्राप्त भएको युवाहरु विदेश नजाने तयारीमा छन् ।
दैलेखको गुरास गाउँपालिका ४ का दिपक रिजाल १० वर्ष देखि भारत गएर मजदुरी गर्दै आएका छन् । भारतमै लामो समयदेखि मजदुरी गरेर गुजारा गर्दै आएका रिजाल अव विदेश नजाने निर्णय गर्दै घरमै बाख्रा पालनमा लागेका छन् ।
रिजालले भने म अब विदेश जाँदैन्, आफ्नै घरमा मेहनत गर्छु, रोजगारीका लागि विदेश गएँ, विदेश बसेर वर्षको ४५ देखि ५० हजार सम्म घर ल्याउँथे तर दुईवटा खसी पालेर बिक्रि गरेँ भने एक लाख आम्दानी हुन्छ, बिहान बेलुका अन्यत्र काम गरेँ भने पनि राम्रो आम्दानी हुन्छ ।
गुराँस गाउँपालिकाकै ७० वर्षका जसबीर बि.क.का ५ छोराछोरी छन्, दुई छोरा कमाइका लागि भारत जाने गर्दछन् । घरमा तीनवटा बाख्रा भएका उनले थप २ वटा बाख्रा पाएपछि बाख्रा पालनलाई महत्व दिने र छोराहरुलाई समेत विदेश नपठाउने तयारीमा छन् । बिकले भने अव पाँचवटा बाख्रा भएका छन् छोरा छोरीलाई बाख्रा पालनमा लगाएर अव बिदेश नजान भन्छु ।
उनिजस्तै कोरोनाकै कारण रोजगारी गुमाएर समस्या परेका ५० किसानलाई एक सय बाख्रा बितरण गरिएको छ भने २ हजार कुखुराका चल्ला बितरण गरेर पाल्न सुरु गरिएको छ ।
कोरोना कहरमै भारतबाट रोजगारी गुमाएर घर फर्केका उहाँजस्तै दैलेखको गुराँस गाउँपालिकाका ४ सय बढी युवा, एकल महिला, बिपन्न समुदाय, गरिव, अपाङ्ग परिवारहरु अहिले कोही कुखुरा पालनमा हुनुहुन्छ भने कोही बाख्रा पालनमा त कोही तरकारी उत्पादनमा लागेका छन् । गुराँस गाउँपालिका र यूनडिपिको सहयोगमा समूह निर्माण गरेर कोरोनाकै कारण रोजगारी गुमाएकाहरुलाई स्थानीय स्तरमै आयआर्जनका काममा लगाइएको छ ।
अहिले महिला शसक्तिकरण मञ्च दैलेखले गाउँका युवाहरुलाई रोजगारी प्रदान गर्ने अभियानको संयोजन गरेको छ । गाउँपालिका भरीका बिभिन्न ४ सय बढी युवाहरुलाई स्थानीय स्तरमै रोजगारी प्रदान गरेका छौं । यूनडिपिको आर्थिक सहयोग र गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा थालिएको अभियानले निकै प्रभावकारी काम गरेको महिला सशक्तिकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्दले जानकारी दिएकी छन् ।
गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले प्रदान गरिएका बाख्राको बीमा गरिएको र समस्या भएमा पालिकाले उपचार अन्य प्राविधिक सहयोग पनि गरिदिएको बताएका छन् ।
गाउँमै आम्दानीको स्रोत भेटिएपछि भारतबाट आएका धेरै युवाहरु अहिले गाउँमै रोकिएका छन् ।









