संघ, प्रदेश र स्थानीय तह समन्वयसम्बन्धी ऐनमाथि छलफल

फागुन ९, सुर्खेत
संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ माथि छलफल भएको छ । राष्ट्रियसभा विधायन समितिको अगुवाइ तथा नेपाल कानून समाजको संयोजनमा आईतबार कर्णाली प्रदेशस्तरीय तीनै सरकारको ‘समन्वय र अन्तरसम्बन्ध’ ऐनका विषयमा भर्चुअल संवाद भएको हो ।
कार्यक्रममा कानून विज्ञ माधव पौडेलले नेपालको संविधानको धारा २३५ को (१) बमोजिम तीन तहका सरकारको ‘समन्वय र अन्तरसम्बन्ध’ को कानून निर्माणमा सरकार, संसद्, नागरिक समाज र सरोकारवालाको सहकार्यको दृष्टान्तबारे प्रस्तुति गरेका थिए ।
उनले भने, ‘यो ऐन बनाउन संवैधानिक आधार र कारण, उद्देश्य, विधेयकको मस्यौदा तयारी, संघीय संसद्धारा विधेयक प्रस्तुत तथा संसदीय छलफल र यसका प्रक्रियालाई अवलम्बन गरेका थियौँ ।’ विधेयकका विषयमा परामर्श र छलफलका सम्बद्ध निकाय, विधेयक पारित भएको समय सारिणी तथा प्रमाणीकरण र ऐन निर्माणमा सरकार, संसद्, नागरिक समाजको सहकार्यः अनुभव, अभ्यास र उपलब्धिबारे उनले प्रस्तुतिमा राखेका थिए ।
राष्ट्रियसभा सदस्य ठगेन्द्र प्रकाश पुरीले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७’ विभिन्न प्रदेशको महत्वपूर्ण सबै पक्षको सहभागितामा बनाइएको बताए । सीमित स्रोतसाधनका बीचबाट बनेको यो कानून गत १३ साउन २०७७ मा लागू भएको तर नियमावली बन्ने क्रममा रहेको सदस्य उनको भनाई रहेको थियो ।
नागरिक समाजका अगुवा पीताम्बर ढकालले तीनै तहको ‘समन्वय र अन्तरसम्बन्ध’ ऐन निर्माण भए पनि प्रदेश सरकारलाई कमजोर बनाइएको धारणा राखे । गाउँपालिका महासंघका कर्णाली प्रदेश अध्यक्ष कविन्द्र केसीले साझा सूचीका अधिकारलाई अझ बढी स्पष्ट बनाइनुपर्नेमा जोड दिए ।
तत्कालीन संविधानसभा सदस्य वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संसद्भित्र र बाहिर नागरिक समाज, सरोकारवालाको व्यापक सहभागिताबाट बनाइएकाले तीनै सरकारको “समन्वय र अन्तरसम्बन्ध” ऐन समृद्ध बनेको दाबी गरे । कार्यक्रमका सहभागीले कागज बन्ने कानून जनतालाई प्रत्याभूत गराउन व्यावहारिक र प्रभावकारी कार्यान्वयनका संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार