प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावबारे सोचेकै छैनौं

काठमाडौंः प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्तावका बिषयमा असन्तुष्ट माधवकुमार नेपाल समूहले त्यसबारेमा नसोचेको बताएको छ ।
माधव नेपाल समूहको मंगलबारको भेलापछि सञ्चारकर्मीहरूसँग उपाध्यक्ष भीम रावलले भने, ’प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कुरा अन्य दलको कुरा हो । पार्टीको सरकारविरुद्ध लाग्ने बारेमा हामीले छलफल गर्नु पर्दैन ।’
त्यसो त प्रधानमन्त्री ओलीले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर माधव समूहले प्रतिपक्षीबाट अविश्वासको प्रस्ताव ल्याएर फ्लोर क्रस गर्नसक्ने भन्दै कारवाहीको तयारी गरेका थिए । तर, स्पष्टीकरण सोधिएका संघका २७ सांसदमध्ये केहीलाई कारवाही गर्ने तयारी ओलीले गरेको भएपनि नेताहरुको सहमति नबनेका कारण रोकिएको थियो ।
बैठकपछि एमाले प्रवक्ता प्रदिप ज्ञवालीले प्रतिपक्षीबाट मात्रै नभएर पार्टीभित्रबाटै अविश्वासको प्रस्तावको तयारी भएको जानकारी आएको बताउँदै आवश्यक कदम चाल्ने बताएका थिए ।
यस्तै, आफ्नो समूहमाथि ओलीले गरेको कारवाहीको कुनै अर्थ नभएको नेता रावल बताउँछन् ।
आफू पक्षको भेलापछि उनले भने, ’आजसम्मको गतिविधिको बारेमा छलफल भयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली नवौँ महाधिवेशनको मर्म विपरित चलि राख्नुभएको छ । उहाँ पार्टीको विधान विपरित केन्द्रीय कमिटीलाई आयोजक कमिटीको रुपमा घोषणा गर्नुभएको छ । त्यसैले उहाँले हामीलाई कारवाही गर्न भनेर स्पष्टीकरण सोध्नुभएको छ । त्यसको अर्थ छैन ।’
ओलीको हरेक कदम पार्टी विधान विपरित भएको दाबी गरे। ओलीले मार्ग निर्देशन विपरित कदम चालेपछि आफूहरुले देशव्यापी रुपमा चलाएको अभियान नरोकिने बताए ।
उनले भने, ’देशव्यापी रुपमा विधानको रक्षाका लागि अभियान चलाएका छौँ । कोरोनाको कारणले रोक्नुपर्ने अवस्था आएको भएपनि पार्टीको विधान मिच्ने ओलीको कदमविरुद्ध हामी रोकिँदैनौँ । हाम्रो अभियान बन्द गर्दैनौँ । तर, कोरोनाको कारणले कम हुनसक्छ ।’
कोरोना रोकथाम र न्यूनीकरणमा भूमिका खेल्नका लागि उनले नेता कार्यकर्तालाई निर्देशन दिए। सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको आरोप लगाए । ‘उहाँले हामीलाई कारवाही गर्छु भन्नु नै गलत हो । संविधान अनुसार सांसदलाई कारवाही गर्न मिल्दैन । पार्टी छाडेको सुचना दिए, अर्को पार्टीमा लागि र राष्ट्रिय महत्वको विषयमा त्यसको विरोध गरेमा मात्रै कारवाही गर्न मिल्छ’ उनले भने । एमालेको विधानको पक्षमा उभिएकाले कसले के कारवाही गर्छ भन्ने बिषयमा केही फरक नपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार