जेठ १७, जाजरकोट
अक्सिजन पलान्ट खरिद गरेर स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा बुझाउने मिति सकिँदा सम्म पनि जाजरकोटमा पलान्ट आइपुगेको छैन । जेठ १५ गतेभित्र अक्सिजन पलान्ट स्वास्थ्य सेवा कार्यालयमा ल्याइपु¥याउनुपर्ने सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्सले जेठ १४ गते म्याद थप्न पत्र पठाएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए । पत्र अनुसार सप्लायर्सलाइ जेठ २० गतेसम्म मिति थप गरिएको उनले बताए । पटक–पटक अक्सिजन पलान्ट समय सीमाभित्र ल्याउने वचन दिएको सप्लायर्सले अन्तिम आएर म्याद थपको चिठी पठाएका कारण सो सप्लायर्सले काम गर्न नसक्ने पक्का भएको निमित्त प्रमुख जैसीले बताए । रुकुम पश्चिम, सल्यानलगायतका जिल्लामा अक्सिजन पलान्टका नाममा कन्सन्ट्रेटर ल्याएर बदमासी गरेको खबर सार्वजानिक भएपछि जाजरकोटमा अक्सिजन पलान्ट खरिद कार्यमा संलग्न सप्लायर्सका नरबहादुर लिम्बूले ढिला गरेको आशंका गरेका गरिएको छ ।
त्यस्तै, अक्सिजन सिलिण्डर खरिदका लागि भएको बोलपत्रमा भवानी प्याथोक्यापका भीमबहादुर महताराले १४० वटा सिलिण्डर २० गतेभित्र स्वास्थ्य सेवा कार्यालयमा पु¥याउने जानकारी दिएको जैसीले बताए । यस्तै, कोरोना अस्पतालको रुपमा रुपान्तरण भएको जाजरकोटको जिल्ला अस्पतालमा अक्सिजन पलान्ट समय सीमाभित्र आइन पुग्दा दुईवटा अक्सिजन कन्सन्ट्रेटरले काम चलाइरहनुपरेको अस्पतालले बताएको छ । अहिले स्वास्थ्य सेवा कार्यालयमा १ सय ४० वटा अक्सिजन सिलिण्डर रहेका छन् । अहिले जाजरकोट अस्पतालमा त्यति ठूलो समस्या नभएको निमित्त प्रमुख जैसीले बताए । यता स्वास्थ्य सेवा कार्यालय डोल्पामा अक्सिजन पलान्ट खरिद गरेर पु¥याए पनि ठेकेदार कम्पनी सम्पर्कमा नआउँदा जोड्न सकिएको छैन । चार पटकसम्म कार्यालयले सम्पर्कमा आउन पत्र लेखे पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए । कार्यालयमा ल्याएर पलान्ट थन्किएको छ, सम्झौता मिति वैशाख १७ गते नै सकिएको छ शाहीले भने । सल्यान र डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा अक्सिजन पलान्ट खरिदको जिम्मा ड्रयागन मेडिटेक प्रालि सुर्खेतले लिएको थियो । सल्यानमा पलान्टको नाममा कन्सन्टे«टर ल्याएर जोडेको खुलासा भएपछि ठेकेदार कम्पनी डोल्पा उक्त सामग्री जोड्न नआएको निमित्त प्रमुख शाहीले जानकारी दिए । सम्झौता मिति सकिएपछि वैशाख २९, जेठ ४ र जेठ ७ गते ड्रयागन मेडिटेक प्रालिलाई पत्र पठाएर पलान्ट जोड्न आग्रह गरिएको थियो ।
कार्यालयको पत्रको कुनै पनि कुरा ड्रयागन मेडिटेक प्रालिले मतलव नगरेपछि जेठ १४ गते सम्झौता भंग गरी धरौटी जफत गरिनेछ भनेर पत्र लेखिएको भए पनि प्रालि सम्पर्कमा नआएको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ । अब ठेक्का तोड्ने अन्तिम तयारीमा रहेको कार्यालयले जनाएको छ । कर्णाली प्रदेशको लेखा समितिले समेत फाइल मागेर पठाएको उनले जानकारी दिए । डोल्पामा कोरोनाका कारण ४ जनाको मृत्यु भइसकेको छ ।









