असार १, दैलेख
दैलेखमा कोरोना संक्रमण बिस्तारै कम हुँदै गएको अवस्था तत्थ्याङ्कले देखाएको भएपनि अधिकाँस दुर्गम गाउँहरुमा अहिलेपनि मानिसहरुमा रुघा, खोकी र ज्वरोका कोरोना संग लक्षण मिल्ने बिरामीहरुको संख्या तीब्र देखिएको छ ।
गाउँघरमा रुघा, खोकी र ज्वरोलाई सामान्य मानिएको छ । न त उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पुग्ने गरेको देखिन्छ नत प्रभावकारी परीक्षण नै भएको छ । यसरी लापरवाही गर्दा दिर्घ रोगिहरुलाई समस्या बढ्दै जानसक्ने सम्भावना पनि उत्तिकै बढेको छ ।
गाउँका अधिकांस स्थानहरुमा रोपाईको चटारो बढेको छ । दिनभर रोपाँइमा व्यस्त हुनुपर्ने र रोपाइमा सामाजिक दुरी कायम गर्न नसकिने अवस्थालाई मध्यनजर गर्दै हरेक स्थानीय निकायहरुले प्रत्येक वडामा एकपट परीक्षणको दायरालाई बढाउँदै सुरक्षा सर्तकता अपनाउनुपर्ने देखिएको छ ।
गाउँमा धेरैलाई ज्वरो आउने गरेको छ, आफै सन्चो पनि भएको छ , कोरोना जाँच गर्न गएका कतिपयलाई हेलाको दृष्टिकोणले हेर्ने गरिएकोले पनि चेकजाँच गर्न स्थानीयहरुले जाँगर नदेखाएको स्थानीयहरु बताउँछन् ।
निषेधाज्ञा
असार १० गतेसम्म निरन्तरता
दैलेखमा निषेधाज्ञा असार १० गतेसम्मका लागि निरन्तरता दिइएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको जिल्ला दैवी प्रकोप तथा कोरोना संकट व्यवस्थापन समिति दैलेखको निर्णय अनुसार असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।
केही खुकुलो गरेर निषेधाज्ञालाई असार १० गते सम्म निरन्तरता दिएका छौं, जिल्लामा कोरोना संक्रमण बिस्तारै घट्दै गएको भएपनि जोखिम कायमै रहेका कारण केही दिनलाई थप गरिएको प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिएका छन् । दैनिक उपभोग्य वस्तु किनमेल गर्न बिहान ६ बजेदेखि दिउँसो १२ः३० बजेसम्म खाद्य पसल, खुद्रा पासल, होटल, सैलुन, व्यूटिपार्लर लगायतका व्यवसायहरु खुल्ने भएका छन् । बैक तथा बितिय संस्थाहरुलाई १० बजेदेखि २ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ। सार्वजनिक निर्माणका कामहरुलाई निरन्तरता दिइएको छ । सबै कार्यका लागि सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने निर्णय गरिएको छ ।









