मध्य पहाडी राजमार्गले फेरियो दैलेखको भविष्य


साउन २, दैलेख
लामो समयको प्रतिक्षा पछि मध्य पहाडी पुष्पलाल राजमार्ग दैलेख खण्डबाट सञ्चालनको तयारी भएपछि दैलेखको भविष्य फेरिएको छ ।
संघीयता आएसँगै पालिकाका केन्द्र मुकामहरुमा एकाएक चहलपहल सुरु भयो, विशेष गरेर जिल्ला सदरमुकामहरु सुनसान भए, सदरमुकामको व्यापार व्यवसाय एकाएक शून्यमा झरेपछि अधिकांशले आफ्ना व्यवसायहरु छोडेर, गाउँतर्फ फर्किए, कतिपय व्यपारिहरु व्याज तिर्न नसकेर घर जग्गा लिलाम गर्न बाध्य भए, तेस्रो वर्ष सम्म निकै घटेको व्यापार व्यवसाय एकाएक बढेको छ ।

दैलेखको पूर्वी भू–भाग भगवतिमाई गाउँपालिकाको सुयाछेडा देखि पश्चिमको आठवीस नगरपालिका सम्म मध्य पहाडी सडकको काम धमाधम सञ्चालनमा आएपछि र सडक सञ्चालन हुन थालेपछि अहिले दैलेखको मुहार परिवर्तन भएको छ ।
मध्य पहाडी राजमार्गको कतिपय स्थानहरु कालोपत्रे भई सडक सञ्चालनमा आइसकेका छन् भने कतिपय स्थानहरु आगामी वर्षभित्र कालोपत्रे सक्ने गरी धमाधम काम सुरु भइरहेको छ ।दैलेखको समग्र भाग्य र भविष्य निर्माणमा मध्य पहाडी राजमार्ग कोशेढुंगा बनेको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बि.क.ले जानकारी दिएका छन् । जिल्लाका सबै राजनीतिक दल, नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गरिदिएका कारण विवाद समाधान पश्चात सडक निर्माण कार्य तीव्र भएसँग सडक सञ्चालनमा आएको र जिल्लाका उत्पादित बस्तुहरू सहजै अन्य जिल्लाहरुमा जान र अन्य जिल्लाबाट दैलेख ल्याउन सहज भएको छ ।

दैलेखको पूर्वी खण्डको १८ किलोमिटर कालोपत्रे सम्पन्न


दैलेखको पूर्वी खण्डमा करिब १८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ ।
दैलेख सदरमुकामको नारायण नगरपालिकाको लोहोरे खोला देखि भगवतिमाई गाउँपालिका हुँदै जाजरकोटको सुयाछेडा सम्मको सडक कालोपत्रे भइसकेपछि जाजरकोट र दैलेखको दुरी निकै कम भएको छ । सुर्खेत पुगेर छिन्छु हुँदै जाजरकोट जानुपर्ने समस्या समाधान भएको छ । सडक कालोपत्रे भएपछि दैलेख सदरमुकामबाट करिब ४ घण्टा लाग्ने यात्रा अहिले १ घण्टामा झरेको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए । अहिले यस क्षेत्रका पर्यटकीय महत्वका स्थानहरुमा मानिसहरुको आवतजावत बढेको छ । व्यापारिक कारोवारमा सहज भएको छ । राजमार्गले पूर्वी क्षेत्रका बासिन्दाहरुको आयस्तर सुधारमा महत्वपूर्ण सहयोग गरेको थापाको भनाई छ ।

विवाद भएको दैलेख खण्डको निर्माण कार्य तीव्र

पहाडी जिल्लाहरूलाई सडक सञ्जालसँग जोडेर पहाडी उत्पादनको बजारीकरण र सहज यातायात सुविधा पु¥याउने उद्देश्यले निर्माण सुरु गरिएको मध्य पहाडी पुष्पलाल राजमार्गको सबैभन्दा विवादित सडक खण्ड मध्येको दैलेख सदरमुकामको ३ किलोमिटर सडक खण्डको काम अहिले तीव्र पारिएको छ । यो सँगै सदरमुकाम दैलेख बजारको लोहोरे देखि छाम घाट सम्मको सडक निर्माण कार्य पनि तीव्र पारिएको छ । यो वर्षको असार मसान्त सम्म दैलेखको १ सय ७ किलोमिटर सडक ग्राभेल सक्ने गरी काम सुरु गरिएको भए पनि कोरोना संक्रमणको दोस्रो लहरका कारण भनेजती काम हुन नसकेको कम्पनीहरुले जानकारी दिएका छन् । दैलेखको पूर्व पश्चिम भू –भागमा कुल १ सय २५ किलोमिटर सडक दैलेख खण्डमा पर्दछ । दैलेखको पूर्व पश्चिम क्षेत्रका विभिन्न भू–भागहरूमा अहिले वाल निर्माण गर्ने, ग्यावीन भर्ने र ग्राभेल गर्ने कार्य तीव्र पारिएको छ । केही स्थानहरूमा मुआब्जा वितरण कार्य सकिएसँगै कामले तीव्रता पाएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।

विभिन्न १० कम्पनीमार्फत
४ अर्ब बढीको काम हुदै


दैलेखका विभिन्न खण्डहरूमा कामको जिम्मेवारी लिएका १० वटा निर्माण कम्पनीहरूले ठेक्का मार्फत काम सुरु गरेका छन् । आयोजनाले दिएको जानकारी अनुसार विभिन्न निर्माण कम्पनीहरूमार्फत सडक निर्माणका लागि करिब ४ अरब बढी रकम यो वर्ष खर्च गरिने भएको छ ।
असार सम्म दैलेख जिल्ला भित्र रहेको १ सय ७ किलोमिटर सडक खण्डमा ग्राभेल सक्ने गरी अहिले धमाधम काम सुरु गरिएको मध्य पहाडी राजमार्ग आयोजनाका प्रमुख इन्जिनियर अर्जुन वमले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी दैलेख आएस“गै सुस्ताएको कामले तीव्रता पायो

आफ्नै गृह जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएर दैलेख आउने बित्तिकै प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दैलेखका ठुला विकासे आयोजना मध्ये महत्त्वपूर्ण मानिएको मध्य पहाडी राजमार्गको काम गुणस्तरीयता कायम गर्दै छिटो निर्माण गर्न आयोजना र निर्माण कम्पनीलाई दबाब दिएका छन् । हरि प्याकुरेलकै सहजिकरणमा दैलेख सदरमुकाम खण्डको तीन किलोमिटर सडक खण्डको विवाद समेत समाधान भएको छ ।

दैलेख सदरमुकाम भित्रको मुआब्जा विवाद समाधान भैसकेको भए पनि मुआब्जा मार्फत केन्द्र सरकारबाट आउनु पर्ने पुरै रकम प्राप्त हुन नसकेका कारण केही स्थानमा भने अझै समस्या समाधान हुन नसकेको प्याकुरेलले जानकारी दिएका छन् ।
दैलेख सदरमुकाममा भित्र पर्ने कुल १ सय २६ किलोमिटर मध्ये आगामी आर्थिक वर्ष २०७६÷०७७ भित्र ५१ किलोमिटर सडक कालोपत्रे गर्ने गरी आयोजनाले काम थालेको भए पनि केही निर्माण कम्पनीहरुले भनेकै समयका काम नसकेका कारण केही समस्या आएको छ । अहिले म्याद थप गरेर काम गरेका कम्पनीहरुलाई पनि ताकेता गरेका छौँ । जिल्लाकै एक हजार भन्दा बढी व्यक्तिहरुले रोजगारी पनि पाएका छन् ।

चकत्रा देखि रामाघाट सम्म कालोपत्रे सुरु

दैलेखको पश्चिम खण्ड रावतकोट देखि चक्रता र चक्रता देखि रामाघाट सम्मको सडक खण्डमा पहिलो चरणको कालोपत्रेको काम सुरु गरिएको छ । असार दोस्रो साता सम्म १० किलोमिटर बढी कालोपत्रे सम्पन्न गर्ने तयारी थालिएको भए पनि मौसम प्रतिकुल भएका कारण लक्ष्य अनुसारको काम हुन नसकेको आयोजनाले जानकारी दिएको छ । निषेधाज्ञाको अवधिमा समेत सामाजिक दुरी कायम गरेर दैलेख खण्डमा पर्ने मध्य पहाडी राजमार्गका विभिन्न ८ वटा स्थानहरुमा धमाधम काम सञ्चालन भइरहेको छ ।
दैलेखको पश्चिम क्षेत्रमा रहेको करिब ३१ किलोमिटर सडक मध्ये मनसुन अघि नै करिब १० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी रहेको भए पनि भनेजति काम हुन नसकेको मध्य पहाडी पुष्पलाल राजमार्ग आयोजना दैलेखका प्रमुख अर्जुन बमले बताए ।

निर्माण कम्पनीको लापरबाहीले एक वर्ष ढिला

दैलेख सदरमुकामको पश्चिम रावतकोट देखी पादुका सम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जे.भि.को लापरबाहीका कारण गत असारमै सम्पन्न गर्नुपर्ने कालोपत्रेको काम यो बर्षबाट सुरु गरिएको छ ।
निर्माण कम्पनीले भनेको समयमा काम सम्पन्न नगरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यालयको ताकेता पश्चात् जेठ २५ देखि करिब १६ किलोमिटर सडक खण्ड कालोपत्रेको काम सुरु गरिएको छ ।
गत वर्ष चैत्र देखि कोरोना संक्रमण बढेपछि काम रोकिएको र यस वर्षको असार सम्म १० किलोमिटर कालोपत्रे सक्ने कम्पनीका कृष्ण ढुङ्गानाले जानकारी दिएको भए पनि भनेअनुसार काम हुन नसकेको स्वीकार गरेका छन् ।

स्थलगत समस्या समाधान गर्दै सर्वपक्षीय अनुगमन


जिल्लाको गौरवको आयोजना भएकोले सडक खण्डमा देखिएका समस्याहरुको स्थलगत रुपमै समाधानका लागि जिल्ला प्रशासनको अगुवाइमा सर्वपक्षीय अनुगमन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । आफू जिल्लामा आए लगत्तै गौरवका आयोजना र अन्य सबै खाले योजना आयोजनाको प्रभावकारीताका बारेमा सम्बन्धित सबै निकायसँग समन्वय, निर्देशन र अनुगमनलाई प्रभावकारी बनाएको प्याकुरेलको भनाइ छ ।
कामको गुणस्तरीयता र सडक क्षेत्रमा बायोइन्जिनियरिंग गर्ने काम प्रभावकारी बनाउने लगायतका विषयमा स्थलगतरुपमै सुझाव दिइएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए ।
दैलेखको पूर्व देखि पश्चिम खण्डका अधिकांश भू–भाग मध्य पहाडी राजमार्गले छोएका कारण जिल्लाको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने नेपाली काँग्रेस दैलेखका पार्टी सचिव भूपेन्द्र शाहीले जानकारी दिएका छन् ।

पक्की पुलले जोड्यो कर्णाली–सुदूरपश्चिम सम्बन्ध


चार वर्ष अघि दैलेखको पश्चिम क्षेत्र आठबिस नगरपालिकाको राकमकर्णाली बजार पुग्ने सबैले सुदूरपश्चिमको चिटिक्क परेको अछामको फाँट हेर्न मात्र पाउँथे । दुवै तिर पक्की सडक सञ्चालनमा थिए, एकछेउबाट कर्णाली राजमार्ग सञ्चालनमा थियो भने, अर्को छेउबाट बेल खेत हुँदै अछाम पुग्ने मध्य पहाडी राजमार्ग सञ्चालनमा भए पनि वारी पारी गर्नका लागि जोखिम मोलेर डुङ्गा तर्नुपर्ने बाध्यता थियो । दुवैतिरको पक्की बाटो जोड्न बाधक बनेको कर्णाली नदी तर्ने पक्की पुल निर्माण भएसँगै निकै टाढा भएको कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको सम्बन्ध ५ मिनेटमा ओहोर दोहोर हुने भएको छ । कर्णाली नदीले छुट्टाएको सम्बन्ध पक्की पुल निर्माण भएसँगै जोडिएको  छ । पुल नहुँदा डुङ्गा तर्नुको विकल्प थिएन । पक्की पुल निर्माण भएसँगै अहिले कर्णाली राजमार्गको राकमकर्णाली पुग्ने जो कोही पनि समय बचत गरेर अछाम पुगेर आउने गर्दछन् भने अछामको विनायक पुग्ने जो कोही पनि दैलेखको राकम कर्णाली पुगेर फर्कने गर्दछन् । यसले दुवै तिरको आन्तरिक पर्यटन प्रर्बद्धनमा टेवा पुगेको स्थानीय दीपेन्द्र विष्टले जानकारी दिएका छन् । अहिले यो क्षेत्रको आर्थिक चहल पहल बढेको छ । विस्थापित भएका पसलहरु पुनः सञ्चालनमा आएका छन् ।

‘यस्तो दिन आउला भनेर सोचेका थिएनौँ, यसरी सहज यातायात होला भनेर कल्पना पनि गरेका थिएनौँ, अहिले मध्य पहाडी राजमार्ग अन्तर्गत कर्णाली नदिमा पक्की पुल बनेपछि विगत चार वर्षदेखि यहाँका बासिन्दाहरूलाई निकै सहज भएको छ ।’
मध्य पहाडी राजमार्ग परियोजनाभित्र रहेर निर्माण गरिएको यो पुल चार वर्ष अघि देखि सञ्चालनमा छ । पुलले सम्बन्ध जोडिदिएपछि यहाँको जनजीवननै फेरिएको स्थानीयको भनाई छ । काठमाडौँ, नेपालगन्ज, सुर्खेत लगायतका जिल्लाहरूबाट अछाम जाने यात्रुहरू अहिले राकम कर्णाली हुँदै यात्रा गर्ने गर्दछन् । यसअघि कोहलपुर भएर अत्तरिया हुँदै अछाम जाँदा करिब १ सय ५० किलोमिटर लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । अहिले राकमकर्णाली नजिकको बेल खेतबाट अछाम सदरमुकाम जाँदा जम्मा ४९ किलोमिटर मात्र यात्रा गर्नुपर्ने भएपछि यसअघि सुनसान हुने बेल खेतमा व्यापार व्यवसाय समेत बढेको स्थानीयको भनाई छ । अहिले दैनिक सयौँ सवारी साधनहरु ओहोर दोहोर गर्ने गरेका छन् । मध्य पहाडी राजमार्गले जोडिएको पहाडी बस्तीहरूको सम्बन्धले एक आपसमा उत्पादन भएका सामग्रीहरू बिक्री वितरण, भेटघाट मात्र हैन आन्तरिक र बाह्य पर्यटनमा समेत निकै सहयोग पुगेको छ ।

५ वटा पक्की पुल बने तीन जिल्लामा बाह्रैै महिना यातायात

मध्य पहाडी पुष्पलाल राजमार्ग अन्तर्गत जाजरकोट, दैलेख र अछाम खण्डका विभिन्न ५ वटा स्थानमा पक्की पुल निर्माण सम्पन्न हुने अन्तिम तयारीमा रहेका छन् । यी पुलहरु निर्माण सम्पन्न भए १२ है महिना यातायात सञ्चालनमा सहजता हुने मध्य पहाडी आयोजनाले जानकारी दिएको छ ।
अहिले दैलेख खण्डमा २ वटा पुल निर्माण कार्य तीव्र पारिएको छ भने आठबिस नगरपालिकाको साततलामा पुलको डिजाइन पेस गर्ने काम सुरु भएको छ ।
जाजरकोट खण्डमा दुई वटा पुल निर्माणको काम सुरु भइरहेको छ ।
पाँच वटा पुल निर्माण हुने बित्तिकै असारमा पनि मध्य पहाडीमा यातायात सञ्चालनमा सहजता हुने मध्य पहाडी आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार