सुर्खेत अस्पतालमा उपचार, अवस्था सामान्य

साउन १३, दैलेख
दैलेखको दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबिस नगरपालिका–९ छेपाडीकी २५ बर्षीया जुना विकलाई २० घण्टापछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उद्धारपछि सुर्खेतमा उपचार गराइरहेकी जुनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको परिवारले जानकारी दिएका छन् ।
मंगलवार विहानदेखि उनलाई सुत्केरी व्याथाले च्यापेको थियो, परिवार र आफन्तहरुले गाउँमै रहेको बर्थीङ सेन्टरमा लगेर मंगलवार दिउँसो २ बजे जुना बिकको दोस्रो सन्तानको रुपमा छोरा जन्मियो ।

सामान्य अवस्थामा छोरा जन्मिएपनि छोरा जन्मिएको दुई घण्टापछि रक्तस्राव सुरु भयो । ज्यान जोखिममा पर्न सक्ने भन्दै आफन्तहरुले उनको थप उपचारको माग गरे । उपचार माग गरेको २० घण्टापछि उनको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बुधवार दिउसो १२ः३०बजे उद्धार गरिएकी उनको अहिले सुर्खेतमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ ।

जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार हुन्छ भन्ने थाहा पाएका जुनाका आफन्तले जिल्ला प्रशासन कार्यालय दैलेख, आठविस नगरपालिका, कर्णाली प्रदेश सरकारसँग गुहार मागे । मौषम खराब भएपछि समयमै उनको उद्धार हुन नसकेपनि केही समय ढिला गरि उद्धार भएको हो । ठाटीकाँध गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा स्टेचरमा बोकेर उपचार गरिरहेकी उनको त्यहीबाट हेलिकप्टरमा उद्धार भएको हो ।

मंगलवार नै हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी थियो तर मौषम खराबीका कारण उद्धार हुन सकेन्,’ जुनाका जेठाजू प्रभाकुमार विश्वकर्माले जानकारी दिएका छन् उद्धारका लागि आठवीस नगरपालिका दैलेखका प्रमुख खड्गराज उपाध्याय, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, कर्णाली प्रदेश सरकारको पहलमा जुनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आफुहरुलाई जानकारी आउने बित्तिकै काठमाडौंको महिला बालवालिका मन्त्रालयमा फोन गरेको र राष्ट्रपति महिला उद्धार कार्याक्रम अन्तर्गत उद्धारका लागि फोन गरेको १५ मिनेटमै रेस्पोन्स भएको थियो, मौसम खराव भएका कारण मंगलवार उद्धार हुन सकेन्, रातभर प्रहरी र स्वास्थ्यकर्मीलाई रेखदेखका लागि राखेका थियौं, बुधवार उद्धार गरिएको छ । जिल्लाका दुर्गम स्थानहरुमा यस्तो समस्या भएको भए तत्काल जिल्ला प्रशासन र सम्वन्धित पालिका प्रमुखहरुसँग समन्वय गर्न पनि प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार