स्थानीय तहसम्म पुग्यो, कोरोना विरुद्धको खोप


सुर्खेतः कर्णाली प्रदेशको सुर्खेत कोभिड–१९ बाट बढी प्रभावित जिल्लामा पर्दछ । पछिल्लो तथ्याङ्कअनुसार यहाँ ११ हजार १ सय ६३ संक्रमितमध्ये २ सय ७ को मृत्यु भइसकेको छ । दुई ३६ सक्रिय बिरामीमध्ये २ सय ९ घरमा, १७ अस्पताल, तीन भेन्टिलेटर र चार आइसियूमा उपचार गराइरहेका छन् ।
दैनिक कूल परीक्षणको २५ देखि ३० प्रतिशत संक्रमितको पहिचान हुने गरेको सुर्खेत राष्ट्रिय तथ्याङ्कमा पनि उच्च जोखिममा रहेको जिल्लामा पर्दछ । कोभिड संक्रमणको यो बढ्दो ग्राफसँगै खोप अभियानले पनि तीव्रता पाएको छ । गत माघ १४ गतेदेखि शुरु कोरोना विरुद्धको खोप अभियान अहिले यहाँका गाउँ–गाउँसम्म पुगेको छ । खोप अभियान पाँचौँ चरणसम्म आइपुग्दा सर्वसाधारणले सहज खोप पाउन थालेका छन् ।
सुर्खेतका नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका, लेकवेशी नगरपालिका र भेरीगङ्गा नगरपालिकाले पाँचौँ चरणको खोप अभियान सम्पन्न गरिसकेका छन् । जनस्वास्थ्य सेवा कार्यालयले तीन पाँच वटा स्थानीय तहले लक्षित वर्गलाई जोनसन र भेरोसेल खोप लगाइसकेको, बाँकी चार तहले साउन २१ र २२ गते लगाउने कार्यक्रम रहेको जनाएको छ ।
गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकामा अहिले नियमित खोप अभियान चलिरहेकाले उक्त मितिमा कोरोना विरुद्धको जोनसेन खोप लगाइनेछ । कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत वाग्लेले सुर्खेतको कूल जनसंख्याको १८ प्रतिशतले कोरोना विरुद्धको खोप पाइसकेको जानकारी दिए ।
प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा करिब चार लाख जनसंख्या छ । ‘सात प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन्, जोनसन खोप एक मात्रा लगाए हुने भएकाले पाँचौँ चरणको खोप अभियान सम्पन्न भएपछि पूर्ण खोप लगाउनेको संख्या बढ्नेछ’, उनले भने, ‘कोभिशिल्डको दोस्रो मात्रा छुटेकालाई पनि छिट्टै लगाउँदै छौँ, सरकारले तोकेका लक्षित वर्गसँगै प्राथमिकतामा परेका अन्यलाई खोप लगाउने प्रबन्ध मिलाएका छौँ ।’ कर्णालीका अन्य जिल्ला जस्तो खोप भण्डारणमा समस्या नभएकाले यहाँ अभियानले तीव्रता पाएको उनकोे भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार