दैलेख बिभिन्न ऐतिहासिक महत्वको जिल्ला मात्र हैन दैलेखले इतिहास रचना गर्ने बिभिन्न व्यक्तिहरु पनि जन्माएको छ । गुमनाम इतिहास भएका व्यक्तिहरुको खोजी त हुन सकेन, सकेन यस्तो इतिहास बोक्ने व्यक्तिका परिवारलाई खोजी गर्नु पहिलो दायित्व हो । पत्रकारले खोजी गरेको बिषयलाई यहाँका जिम्मेवार निकायहरुले थप खोजवीन गर्नुपर्ने देखिन्छ । दैलेख र सुर्खेतमा झोलुङ्गे पुल निर्माण गरेर राजा महेन्द्रबाट ४ सय बक्सिस पाएका दैलेखको रतीखोलाका दलवीर सिंह कामिको पौरख र उनले गरेका एतिहासिक कामहरु अहिलेका पुस्ताका लागि नयाँ अनुभव र प्रेरणा हुनसक्छन् ।
बिसं १९७८ सालमा दैलेखको रतीखोला (हाल गुराँस गाउँपालिका अन्तर्गत वडा नं.४) मा जन्मेका दलवीर सिंह कामीले आफुले सुरु गरेको आरने पेशा सँगै उनको सीप दक्षता र क्षमताले कसैले सहयोग नगरेरै दैलेख र सुर्खेतका दजनौं पुल निर्माण गरेको बिषय दैलेखका लागि एतिहासिक महत्वका बिषयहरु हुन् ।
तत्कालिन पञ्चायत सरकारले उनको क्षमताको कदर गरेर दिएको सव–ओभरशियरको जागिर सँगै उनले गरेका प्रभावकारी कामको मूल्याँकन उतिबेलाका राजा महाराजाले कति गरे वा गरेनन् त्यो बिषय खोजि गर्नुपर्छ । पुल निर्माण कामको सिलसिलामा सुर्खेत गएका उनको शव बिसं २०३० बैशाख २० गते बादेपिपलको वागेश्वरी विद्यालय नजिकैको चौतारोमा झुण्डिएको अवस्थामा भेटियो । उनी मर्नुपर्ने कुनै कारण नै थिएन् कसैले उनको हत्या गरेको हुनसक्ने आशंकालाई खोजवीन गर्ने कुरा पहुँच नपुगेका कारण रोकिएको स्पष्ट देखिन्छ ।
उतिवेला देखिनै पीडित बनेको उनको परिवारलाई अहिलेको सरकारले खोजी गर्नुपर्दछ, उनका परिवारलाई उचित सम्मान दिनुपर्दछ । यो बिषयको खोजी गर्ने काम बर्तमान सरकार सञ्चालकहरुको हो । स्थानीय सरकार र प्रदेश सरकारले पनि उनका परिवारको खोजी गरेर सम्मान गर्नुपर्ने बिषय अहिलेको आवश्यकता हो । सकिन्छ अँझै पनि त्यो बिषयको अनुसन्धान गरौं सडकको रेखांकन गर्ने बिषयमा पहुँचवालाहरुले आफ्नो स्थानबाट बाटो लगिदिन भनेका दलवीरले सरकारको रकम बचाउन छोटो र छिटो बाटो खोज्नु कमजोरी थियो । राज्यले यो बिषय खोज्ने कि नखोज्ने । उनको योगदानको कदर गर्दै परिवारलाई सम्मान गर्ने कि नगर्ने ?








